२०८२ श्रावण २, बिहिबार
24 खबर अपडेट

प्रतापपुरका अपांगता भएका व्यक्ति आर्थिक सुधारमा अघि बढ्दै

२०८२ अषाढ १, आईतबार प्रकाशित ( महिना अघि) २५० पाठक संख्या

मोहन पौडेल
परासी, ३१ जेठ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अपांगता भएका व्यक्तिहरु स्वरोजगार तथा व्यवसाय गर्दै आर्थिक सुधारतर्फ अग्रसर भएका छन् ।
विभिन्न कारणले अपांगता हुनु परेपछि आफुसँग रकम नहुँदा कुनै उद्यम गर्न नसकिरहेका अपांगता भएका व्यक्तिहरुले तालिम र केही  बिउ पुँजी पाएपछि आय आर्जनमा लागेका हुन् ।
गाउँघरमा केही व्यवसाय र रोजगारीको काम गर्न सकुन् र आर्थिक स्तर वृद्धि होस् भनेर अपांगता समावेशी विकास परियोजनाले यहाँका अपांगता भएका व्यक्तिहरुलाई विउ पुँजी वितरण गरेपछि उनीहरुलाई सहज भएको हो ।
यूनाईटेड मिसन टु नेपालको आर्थिक सहयोगमा सुनवल सामुदायिक विकास केन्द्रद्धारा सञ्चालित परियोजनाले प्रतापपुरका धेरै अपांगता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम, मेसिन तथा बीउ पूँजी सहयोग गर्नुका साथै उनीहरुको क्षमता विकासमा पनि काम गरिरहेको छ ।
अपांगता भएका व्यक्तिहरको पारिवारिक अवस्थाको आधारमा प्राथमिकतामा रहेका र जीविको पार्जनका लागि सम्भावना बोकेका विभिन्न व्यवसायहरु सञ्चालन गर्नका लागि ३० देखि ३५ हजार सम्मको सामग्री बीउ पुँजीको रुपमा उपलब्ध गराइएको परियोजना संयोजक श्याम सुन्दर  ढुंगानाले जानकारी दिनुभयो ।
बीउ पूँजीबाट अपांगता भएका व्यक्तिहरुले साना व्यवसाय सञ्चालन गरी रहेका छन् । प्रतापपुर–९ खैरहनीका ५८ वर्षीय लोकनारायण थारु शारीरिक रुपमा अपांगता  हुनुहुन्छ । नौ वर्ष अघि अचानक पक्षघात भएपछि उहाँलाई हिँडडुल गर्न समस्या भयो । ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आउनुभएका लोकनारायण अपांगता भएर थलापरेपछि आम्दानीको स्रोत नै गुम्यो ।
थारु परिवारको आयआर्जनका लागि परियोजनाले दुई वर्ष अघि उपलब्ध गराएको रु ३० हजारको सामग्री बीउ पुँजीबाट उहाँले किराना पसल सञ्चालन गर्नुभयो । अहिले उहाँको घर खर्च सोही पसलबाट चलिरहेको छ भने पसलको आम्दानीबाट पुँजी पनि बढाउँदै जानुभएको छ ।

A1

प्रतापपुर–२ प्रसौनीका ६० वर्षीय मल्लु मिया अहिले बाख्रा चराउन र पालनपोषणमा व्यस्त हुनुहुन्छ । २० जनाको संयुक्त परिवार रहेको मियाँकी नातिनी रोजिना खातुन जन्मजात नै अपांगता हुनुहुन्छ । खेती किसानीबाटै गुजारा चलाउँदै आउनु भएका मियाँको परिवारलाई परियोजनाले आयआर्जनका लागि पाँच वटा बाख्रा बीउ पुँजीको रुपमा चार महिना अघि उपलब्ध गराएको छ ।

A3

१२ वर्षीय नातिनी रोजिना गाउँ नजिकै आदर्श मावि सेमरीमा कक्षा ८ मा पढ्नुहुन्छ । उहाँको एउटा खुट्टा अपांगता छ । बाख्रापालन गरी आयआर्जनमा लागेको मियाँ बताउनुहुन्छ । “बाख्रा पाएपछि आयआर्जनको स्रोत बन्यो, हामीले किन्न सक्ने क्षमता थिएन, यो परियोजना हामी जस्ता गरिबका लागि सहारा नै बनेको छ”, उहाँले भन्नुभयो ।
प्रतापपुर–२ प्रसौनीकै २४ वर्षीय रञ्जित थारु शारीरिक र मानसिक रुपमा अपांगता हुनुहुन्छ । घरको एकमात्र छोरा जन्मजातै अपांगता भएपछि ४२ वर्षीय आमा बिमला थारुको दैनिक छोराकै हेरचाहमा वित्ने गरेको छ । दुई छोरी र एक छोराकी आमा बिमलाले छोराछोरी सानै हुँदा पति गुमाउनु पुग्नुभयो । त्यसपछि आम्दानीको कुनै स्रोत नहुँदा उहाँले ठूलो संघर्ष गरी छोराछोरी हुर्काउनुभयो ।
छोराको हेरचाहमै दिन विताउनुपर्दा आम्दानीको स्रोत नभएकोले परियोजनाले उहाँलाई पनि रु ३० हजारको सामग्री बीउ पुँजी उपलब्ध गरायो । दुई वर्ष अघि सोही पुँजीबाट घरमै किराना पसल शुरु गरेकी बिमलाको किराना पसल आम्दानीको स्रोत बनेको छ । पसल सञ्चालन गर्नुपूर्व माईतीले दिएको खर्चबाट गुजारा चलाउँदै आउनुभएकी बिमलाको घरखर्च अहिले पसलको आम्दानीबाटै चलिरहेको छ ।

A2

सोही ठाउँका ३२ वर्षीय करण चौधरी रोजगारीको शिलशिलामा कावासोतीमा काम गर्दा गर्दै अपांगता बन्न पुग्नुभयो । ६ वर्षअघि शारीरिक रुपमा अपांगता भएपछि उहाँको दैनिकी सुत्ने खाने मात्र थियो । विहे गरेको एक वर्षमै श्रीमान हिँडडुल गर्नै नसक्ने गरी अपांगता बन्न पुगेपछि श्रीमती सीतालाई ठूलो समस्या भयो ।
भारत र नेपालका नाम चलेका अस्पतालहरुमा उपचार गरेपनि करण निको नभएपछि दैनिक गुजारा चलाउन समस्या भयो । परियोजनाले करणको काठमाडौँमा उपचारसहित करिब दुई महिना तालिमको व्यवस्थापन गर्यो ।
ह्विल चेयरको सहाराले दैनिक कर्म गर्न समेत नसक्ने अवस्थामा पुगेका करण  काठमाडौँको दुई महिने तालिम पछि ह्विल चेयरकै सहारामा शौचालय जाने, विस्तारामा जाने,खाना खाने लगायतका काम गर्न सक्ने हुनुभएको छ । “परियोजनाले हाम्रो लागि धेरै गर्नुभयो,शिक्षा दिनुभयो, सिकाउनुभयो, हिम्मत दिनुभयो, अब केही गरेर आयआर्जन गर्ने सोचमा छौँ”, उहाँले भन्नुभयो ।

A4

नवलपरासीको प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकाका अपांगता भएका व्यक्ति तथा उनीहरुका परिवारको आयआर्जन, सीप विकास तथा जीविकोपार्जनमा सहयोग गर्दै उनीहरुको हकअधिकार सुनिश्चित गर्न विगत तीन वर्षदेखि अपांगता समावेशी विकास परियोजना सञ्चालनमा छ । परियोजनाले उनीहरुको हकअधिकार सुनिश्तिताका लागि पैरवी गर्ने, अपांगता मैत्री नीति निर्माणमा स्थानीय सरकार तथा सरोकारवालासँग सहकार्य गर्ने तथा अपांगता भएका बालबालिकालाई शिक्षामा पहुँच बढाउन समेत पहल गर्दै आएको सुनवल सामुदायिक विकास केन्द्रकी पुनःस्थापना तथा समावेशी संयोजक राधा तिमिल्सिना सापकोटाले  जानकारी दिनुभयो ।
समूदायको समावेशी विकासमा योगदान पुर्याउदै दुवै पालिका भित्रका सबै अपाङ्गता भएका व्यक्तिहरुले आफ्ना हक अधिकार उपभोग गर्न पाउने अवस्थामा पुर्याउने परियोजनाको लक्ष्य हो ।
त्यसका लागि परियोजनाले अपाङ्गता भएका व्यक्तिरु र उनीहरुको परिवारलाई आर्थिक रुपले सक्षम बनाउने तथा व्यवसायिक ज्ञान र सीप वृद्धि गर्ने कार्य गर्दै आएको छ । परियोजना संयोजक ढुंगानाका अनुसार अपाङ्गता भएका व्यक्तिहरुले आफ्ना हक अधिकार, सेवा सुविधा उपभोग गर्न पाउने र सेवा प्रदायकसँग समन्वय र सहकार्य गर्न सक्ने बनाउनतर्फ विभिन्न काम गरिएको छ ।
अपाङ्गतामैत्री पहुँचयुक्त वातावरणमा समान शैक्षिक अवसरहरु विकास गर्नका लागि पनि परियोजनाले शिक्षामा समान अवसर, भर्नामा थपिएका वालवालिका, अपाङ्गतामैत्री बिद्यालय, परिवार तथा शिक्षकहरु लगायत विद्यालयका विभिन्न समितिहरुसँग समाबेसी शिक्षा सवालमा अन्तरकृया तथा पैरवी गरिरहेको छ। सन् २०२८ सम्म अपाङ्गता भएका व्यक्तिहरु र उनीहरूका परिवारका सदस्यहरुको पहुँच र सहभागितामा हुने सबै अवरोधहरू हट्ने परियोजनाको विश्वास छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस