२०८३ बैशाख १२, शनिबार
24 खबर अपडेट

प्रेरणादायी यात्रा : गुञ्जा चौधरीको सचेतना, आत्मविश्वास र नेतृत्व विकास

२०८३ बैशाख १२, शनिबार प्रकाशित ( घण्टा अघि) ७१ पाठक संख्या

पश्चिम नवलपरासीको सरावल–२ निवासी तथा जावा महिला जलवायु स्वास्थ्य समूह (WCHG) की सदस्य गुञ्जा चौधरी मनरी स्वास्थ्य चौकी अन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका (FCHV) का रूपमा विगत ४ वर्षदेखि समुदायमा सक्रिय रूपमा सेवा गर्दै आएकी छन्।

आमाहरू, बालबालिका, खोप तथा पोषणसम्बन्धी गतिविधिहरूमा उनको योगदान उल्लेखनीय रहँदै आएको छ। क्यानाडियन रेडक्रसको सहयोग तथा नेपाल रेडक्रस सोसाइटीद्वारा कार्यान्वयन गरिएको स्थानीय नवप्रवर्तन कोष  (LIF) परियोजना सुरु हुनुअघि उनलाई जलवायु परिवर्तन र यसको स्वास्थ्यमा पर्ने प्रभावबारे सीमित जानकारी थियो।

“पहिले मलाई जलवायु परिवर्तनबारे खासै थाहा थिएन, तर अहिले यसको स्वास्थ्यमा पर्ने प्रभाव र न्यूनीकरणका उपायहरू बुझ्न थालेकी छु,” गुञ्जा भन्छिन्। परियोजना कार्यान्वयन क्षेत्र तराईमा पर्ने भएकाले यहाँका समुदायहरू अत्यधिक गर्मी, पानी अभाव, झाडापखाला, जलवियोजन तथा जाडोमा चिसोसम्बन्धी रोगहरूको उच्च जोखिममा रहेका छन्।

असुरक्षित खानेपानी, कमजोर सरसफाइ र पोषण अभावले यी समस्यालाई थप जटिल बनाएको छ। परियोजनाअन्तर्गत गुञ्जा WCHG सदस्यका रूपमा आबद्ध भई अभिमुखीकरण, तालिम तथा सामुदायिक छलफलहरूमा सक्रिय सहभागिता जनाउन थालिन्। उनले जलवायु परिवर्तन केवल वातावरणीय नभई गम्भीर स्वास्थ्य समस्या भएको बुझ्दै सुरक्षित पानी, सरसफाइ, फोहर व्यवस्थापन, करेसाबारी र पोषणसम्बन्धी व्यवहारिक सीप हासिल गरिन्।

“परियोजनाबाट सिकेका कुराले मेरो परिवार मात्र होइन, समुदायलाई पनि फाइदा पुगेको छ,” उनी भन्छिन्। तालिमपछि उनले घरमै फोहर व्यवस्थापन, सुरक्षित पानी प्रयोग र करेसाबारी अभ्यास सुरु गरिन् र छिमेकीहरूलाई पनि प्रेरित गरिन्।

समुदायस्तरमा महिला समूहको सहभागितामा स्वास्थ्य तथा जलवायु सचेतना सम्बन्धी अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न हुँदै।”

समुदायस्तरमा महिला समूहको सहभागितामा स्वास्थ्य तथा जलवायु सचेतना सम्बन्धी अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न हुँदै।”

परियोजनाको मध्य चरणमा उनले सहभागीबाट सक्रिय परिचालकको भूमिका निर्वाह गर्न थालिन्। उनले घरदैलोमै पुगेर महिलाहरूलाई तालिम तथा कार्यक्रममा सहभागी गराउँदै समुदायमा सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलिन्।

“महिला समूहमा सहभागी भएपछि मेरो आत्मविश्वास धेरै बढेको छ, अहिले म खुलेर आफ्ना कुरा राख्न सक्छु,” गुञ्जा बताउँछिन्। उनले विशेषगरी गर्भवती महिला, बालबालिका र ज्येष्ठ नागरिकजस्ता संवेदनशील समूहहरूलाई लक्षित गर्दै गर्मी र जाडोमा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिँदै आएकी छन्।

परियोजना सम्पन्न हुँदासम्म गुञ्जा जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी ज्ञानले सशक्त भई समुदायको विश्वासिलो स्रोत व्यक्ति तथा अगुवा स्वयंसेविकाका रूपमा स्थापित भएकी छन्। “साना घरेलु अभ्यासले पनि जलवायुजन्य स्वास्थ्य जोखिम कम गर्न सकिन्छ भन्ने कुरा मैले व्यवहारमै अनुभव गरेकी छु,” उनी थप्छिन्।

 

“महिला समूहको सक्रिय सहभागितामा खुला स्थानमा स्वास्थ्य तथा जलवायु सचेतना सम्बन्धी अन्तरक्रियात्मक छलफल सञ्चालन हुँदै।”

“महिला समूहको सक्रिय सहभागितामा खुला स्थानमा स्वास्थ्य तथा जलवायु सचेतना सम्बन्धी अन्तरक्रियात्मक छलफल सञ्चालन हुँदै।”                                                                                                                                                                                                                                                                                                                                                                             गुञ्जाको यो यात्रा स्थानीय स्तरमा महिलाहरू तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई सशक्त बनाउँदा जलवायु सहनशील र स्वस्थ समुदाय निर्माणमा महत्वपूर्ण योगदान पुग्ने सशक्त उदाहरण हो। 

गोकर्ण श्रेष्ठ

कार्यक्रम संयोजक

Localized Innovation Fund (LIF) Project

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस