२०८३ बैशाख २३, बुधबार
24 खबर अपडेट

सरावलमा बालमैत्री तथा समावेशी शिक्षाका लागि विद्यालयको वातावरण सुधार कार्यक्रम लागू

२०८३ बैशाख २३, बुधबार प्रकाशित ( घण्टा अघि) ८८ पाठक संख्या

मोहन पौडेल
परासी, २३ वैशाख । पश्चिम नवलपरासी जिल्लाका तीन स्थानीय तहमा बालमैत्री तथा समावेशी शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यले “बालमैत्री तथा समावेशी शिक्षाका लागि विद्यालयको वातावरण सुधार कार्यक्रम” सुरु भएको छ ।
परियोजना अन्तर्गत सरावल गाउँपालिका, प्रतापपुर गाउँपालिका र बर्दघाट नगरपालिकाका चार/चार वटा गरी १२ वटा सामुदायिक विद्यालय समेटिएका छन्। जापान सरकारको आर्थिक सहयोगमा चाइल्डफण्ड जापान र इन्द्रेणी सामाजिक विकास मञ्चको साझेदारी तथा सरावल गाउँपालिकाको समन्वयमा कार्यान्वयन हुने उक्त परियोजना आगामी तीन वर्षसम्म सञ्चालन हुनेछ।
परियोजना पहिलो वर्ष सरावल गाउँपालिकामा सञ्चालन हुनेछ । बुधबार सरावल गाउँपालिकाका सरोकारवालाहरुबीच परियोजनाको प्रारम्भिक बैठक गरी जानकारी गराइएको हो । यो परियोजनाबाट बाल विकासदेखि कक्षा १२ सम्मका दुई हजार १९ विद्यार्थी, ७६ शिक्षक तथा ७८ जना विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक शिक्षक संघका सदस्यहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने चाइल्डफण्ड जापान नेपाल कार्यालयका परियोजना व्यवस्थापक मनोज कुमार थारुले जानकारी दिनुभयो ।
परियोजनाको मुख्य लक्ष्य विद्यालय, समुदाय र स्थानीय सरकारबीच सहकार्य अभिवृद्धि गर्दै बालबालिकाका लागि सुरक्षित, समावेशी र गुणस्तरीय सिकाइ वातावरण सिर्जना गर्नु रहेको छ। “यसले विशेष गरी विद्यालयमा पहुँच वृद्धि, विद्यार्थीको सहभागिता बढाउने तथा सिकाइको गुणस्तर सुधार गर्ने विश्वास गरिएको छ।”, उहाँले भन्नुभयो ।

Mmnn

 

पहिलो एक वर्ष सरावल गाउँपालिकामा सञ्चालन हुने उक्त परियोजनाका लागि गाउँपालिका भित्रका चार वटा विद्यालय छनौट गरिएको छ । जनता आधारभूत विद्यालय सरावल–५ धनगढवा,विनोद निता कँडेल आधारभूत विद्यालय सरावल–५,जनता मावि सरावल–६ र महेन्द्र जनता मावि सरावल–६ मा उक्त कार्यक्रम सञ्चालन हुने इन्द्रेणी सामाजिक विकास मञ्चका कार्यकारी निर्देशक पुष्पराज आचार्यले बताउनुभयो ।
छनौट गरिएको मध्ये जनता आधारभूत विद्यालय धनगढवामा शिक्षक, अभिावकको क्षमता अभिवृद्धि साथसाथै भौतिक पूर्वाधार निर्माण समेत हुनेछ । जसमा ६ कोठे भवन निर्माणसहित कक्षाकोठा व्यवस्थापन सुधार, लैङ्गिक समानता तथा समावेशीमैत्री शौचालय निर्माण र ६ धारासहितको सुरक्षित खानेपानीको व्यवस्था गरिने चाइल्ड फण्डका इन्जिनियर दुर्गा ढकालले बताउनुभयो । अन्य ३ विद्यालयमा शिक्षकहरूलाई बालमैत्री शिक्षण विधि अपनाउन प्रोत्साहित गरिने र विद्यालयस्तरमा विपद् जोखिम न्यूनीकरण सम्बन्धी गतिविधिहरू मात्र सञ्चालन गरिनेछन्।
यसैगरी, विद्यालय व्यवस्थापन समिति तथा अभिभावकहरूको सक्रिय सहभागितामा वार्षिक विद्यालय सुधार योजना तयार गरी कार्यान्वयन गरिनेछ, जसले दीर्घकालीन रूपमा विद्यालयको शैक्षिक वातावरणलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ। परियोजना कार्यान्वयनपछि विद्यार्थीहरूले विद्यालयमा सुरक्षित र सहज महसुस गर्ने, शिक्षकहरूले प्रभावकारी शिक्षण विधि अपनाउने र समुदायको विद्यालयप्रतिको अपनत्व वृद्धि हुने विश्वास गरिएको इन्द्रेणी सामाजिक विकास मञ्चकी परियोजना संयोजक बीना चौधरीले बताउनुभयो ।
सरावल गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले परियोजनालाई सरावलमा नमूना हुने गरी कार्यान्वयनमा सहयोग गर्ने बताउनुभयो । उहाँले सरोकारवालासँग समन्वय सहकार्य मार्फत गुणस्तरीय र प्रभावकारी कार्यान्वयन गर्न समेत जोड दिनुभयो ।
शिक्षा विकास तथा समन्वय इकाई नवलपरासीका प्रमुख महेन्द्र सुवेदीले परियोजनाको सफल कार्यान्वयनमा गाउँपालिकाको सक्रिय सहभागिता र अनुगमन निरन्तर हुनुपर्नेमा जोड दिनुभयो । जापान सरकारले यसअघि सञ्चालन गरेको कार्यक्रमहरु सफल रहेको बताउँदै उहाँले कार्यक्रम कार्यान्वयन हुने विद्यालयका शिक्षक, अभिभावकले पनि सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।
इन्द्रेणी सामाजिक विकास मञ्चकी अध्यक्ष धनमति सापकोटाले सबैको सहयोग र सहकार्यमा परियोजनालाई सफल बनाउने बताउनुभयो ।  सरावलमा पहिलो वर्ष सञ्चालनपछि यो परियोजना दोस्रो वर्ष प्रतापपुर गाउँपालिका र तेस्रो वर्षमा बर्दघाट नगरपालिकामा लागू हुनेछ । यसअघि यो परियोजना सिन्धुपाल्चोक र गोरखा जिल्लामा कार्यान्वयन भइसकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस