

मोहन पौडेल
परासी, ८ वैशाख । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–५ भैरमपुरमा मंगलबार दिउँसो भएको भीषण आगलागीबाट प्रभावित १२ घरपरिवारलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासीले तत्काल राहत सामग्री उपलब्ध गराएको छ।
पीडित परिवारलाई अस्थायी बसोबास र दैनिक आवश्यकतामा सहयोग पु¥याउने उद्देश्यले मंगलबार नै घटनास्थलमा पुगेर राहत सामग्री वितरण गरिएको रेडक्रस जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरीले बताउनुभयो । पीडितलाई तत्कालका लागि आवश्यक सामग्री उपलब्ध गराइएको उहाँले बताउनुभयो ।
सभापति अग्रहरीले अहिलेको मौसमलाई समेत मध्यनजर गर्दै सावधानी अपनाउन र सम्भावित विपदका घटनाबाट जोगिन आग्रह गर्नुभयो । आगलागीपछि समस्यामा परेका पीडित परिवारलाई रेडक्रसले त्रिपाल, म्याट, ब्यालंकेट, झुल, लत्ताकपडा, बाल्टी लगायतका सामग्री वितरण गरेको नवलपरासी रेडक्रसका विपद व्यस्थापन संयोजक अर्जुन क्षेत्रीले जानकारी दिनुभयो ।

आगलागीको घटनापछि भैरमपुर गाउँ नै शोकमा डुबेको छ। मंगलबार दिउँसो करिब १ः२० बजे सुरु भएको आगो एक घण्टापछि मात्र नियन्त्रणमा आउँदा १२ घरमा ठूलो क्षति पुगेको छ। स्थानीय गोबिन्द चमारको टाटीले बेरेको कच्ची घरबाट सुरु भएको आगो तीव्र हावाका कारण छिमेकीका घरहरूमा फैलिँदै जाँदा अधिकांश कच्ची घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय बसहिया र सशस्त्र प्रहरीको बिओपी गुठीप्रसौनीबाट सुरक्षाकर्मीको टोली खटिएको थियो भने स्थानीयवासीको समेत सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डिएसपी वीरदत्त पन्तले जानकारी दिनुभयो ।
आगलागीबाट गोबिन्द चमार, रामसिंह कुर्मी, रामबहादुर कुर्मी,नगिना हरिजन, भुटेल हरिज, सन्तोष हरिज, कासीलाल चमार, शिवसरण कुर्मी, सदिक मियाँ, किमन कुर्मी र अनेश कुर्मीका कच्ची घर पूर्ण रूपमा जलेका छन् भने उमेश कुर्मीको पक्की घर आंशिक रूपमा क्षतिग्रस्त भएको छ।
सबैका घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाडावर्तन, फर्निचर, नगद रकम तथा सुनचाँदीका गरगहनासमेत जलेर नष्ट हुँदा करिब ४५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। आगलागीमा ३ वटा बाख्राको ज्यान गएको छ भने १ वटा गम्भीर घाइते भएको छ। मानवीय क्षति भने भएको छैन।
स्थानीय गोबिन्द चमारको घरमा बिहान सरसफाइ गर्दा जलाइएको फोहरको आगो पूर्ण रूपमा ननिभाउँदा हावाले पुनः सल्किएर आगलागी भएको बताइएको छ। घटनापछि प्रभावित परिवारहरू बिचल्लीमा परेका छन्। उनीहरूले तत्काल राहत, आवास र खाद्यान्न सहयोगको माग गरेका छन्।
