

परासी,१५ वैशाख । झुट्टा विवरण पेश गरी मृत्यु दर्ता प्रमाणपत्र बनाउने कार्यमा संलग्न रहेको आरोपमा वडा अध्यक्ष सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सुस्ता गाउँपालिका–५ का वडा अध्यक्ष ५६ वर्षीय प्रभुनाथ यादव,सोही वडाका वडा सचिव रेवारेता निवासी ३२ वर्षीय संजय कुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तले जानकारी दिनुभयो । सोही अभियोगमा प्रहरीले यसअघि नै सुस्ता-५ निवासी ३१ वर्षीय तारिख मिया अन्सारी र ५५ वर्षीय छोटे खाँलाई पक्राउ गरेको थियोे ।
प्रहरीका अनुसार सरकारी अभिलेखमा झुट्टा विवरण पेश गरी कानुनी प्रक्रिया दुरुपयोग गर्ने कार्य गम्भीर अपराध भएकाले यसमा संलग्न अन्य व्यक्तिहरुको खोजी तथा थप अनुसन्धान तीव्र पारिएको छ।
डीएसपी पन्तका अनुसार राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण ऐन, २०७६ को परिच्छेद ६ अन्तर्गत दफा ४१ (ग) र (च) बमोजिमको कसुरमा गत २०८२ चैत १५ गते मुद्दा दर्ता भई अनुसन्धान अगाडि बढाइएको थियो। सोही अनुसन्धानको क्रममा नवलपरासी जिल्ला अदालतबाट पक्राउ अनुमति लिई प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
उनीहरुलाई हाल इलाका प्रहरी कार्यालय बेलाटारीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
