२०८३ बैशाख २३, बुधबार
24 खबर अपडेट

उपभोक्ता समितिका पदाधिकारीको क्षमता अभिवृद्धिसँगै ‘शून्य फोहोर’ अभियानमा खानेपानी महासंघ नवलपरासीको जोड

२०८३ बैशाख २३, बुधबार प्रकाशित ( घण्टा अघि) ७३ पाठक संख्या

मोहन पौडेल
परासी, २३ वैशाख । पश्चिम नवलपरासी जिल्लामा खानेपानी तथा सरसफाइ व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल नवलपरासीले उपभोक्ता समितिका पदाधिकारीलाई क्षमता अभिवृद्धिसहित ‘शून्य फोहोर’ अभियानमा जोड दिएको छ ।
खानेपानी तथा सरसफाइ कार्यालय परासीको सहयोगमा महासंघले बुधबार भूमहीमा उपभोक्ता समितिका पदाधिकारी र व्यवस्थापकलाई खानेपानी तथा सरसफाइ सम्बन्धि अभिमुखीकरण गर्दै शून्य फोहोर अभियान कार्यक्रम सफल बनाउन आग्रह गरेको हो ।
जिल्लाका सातै पालिकाबाट ३१ वटा खानेपानी उपभोक्ता संस्थाका पदाधिकारी तथा व्यवस्थापक गरी ७६ जनाको सहभागिता रहेको कार्यक्रममा संस्थागत क्षमता अभिवृद्धि र अनुभव आदानप्रदानमा विशेष जोड दिइएको थियो। महासंघका जिल्ला अध्यक्ष देवीदत्त सापकोटाले स्थानीय स्तरमा खानेपानी व्यवस्थापनलाई थप सुदृढ बनाउन र सरकारले थालेको शून्य फोहोर अभियानलाई सफल बनाउन यस कार्यक्रमले महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
“संस्थाका पदाधिकारीहरूलाई सक्षम बनाउँदै आपसी सिकाइ र सहकार्य बढाउने तथा शून्य फोहोर अभियानलाई व्यवहारमै उतार्ने लक्ष्यका साथ कार्यक्रम गरिएको हो,” उहाँले भन्नुभयो। अभिमुखीकरणमा खानेपानी तथा सरसफाइसम्बन्धी कानुनी व्यवस्था, संस्थागत जिम्मेवारी, मुहानदेखि उपभोक्ता तहसम्म सरसफाइ कायम राख्ने उपाय, पानीजन्य रोगको रोकथाम तथा सुरक्षित खानेपानीको पहुँच विस्तार तथा शून्य फोहोर अभियानका विषयमा प्रशिक्षण दिइएको थियो।
उक्त अवसरमा बर्दघाट नगरपालिकाका स्वास्थ्य तथा खानेपानी शाखा प्रमुख कृष्णहरि पौडेलले खानेपानी र स्वास्थ्यबीचको सम्बन्ध, बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका व्यवस्थापक विष्णु भुसालले खानेपानी सुरक्षा योजना र संस्थागत सुदृढीकरणका उपायबारे प्रशिक्षण दिनुभयो। त्यस्तै खानेपानी तथा सरसफाइ कार्यालय परासीका इन्जिनियर धीरज तामाङ र विधान कँडेलले ‘शून्य फोहोर’ अभियानलाई स्थानीय स्तरमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उपाय तथा संस्थागत विकासमा भूमिकाबारे सहजीकरण गर्नुभएको महासंघकी उपाध्यक्ष जुना कँडेलले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी तथा सरसफाइ कार्यालय नवलपरासीका प्रमुख दिनेशप्रसाद शाहले शून्य फोहोर अभियानले वातावरण संरक्षण,जनस्वास्थ्य सुधार र दिगो विकासमा महत्वपूर्ण योगदान पुर्याउने भएकोले उपभोक्ता तहबाट यो अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले संघीय सरकारबाट जिल्लामा सञ्चालित तराई मधेसका १६ वटा खानेपानी आयोजना र ९ वटा जलवायु अनुकुलन खानेपानी आयोजनामा बजेट नआउँदा काम अघि बढ्न नसकेको बताउनुभयो। प्रदेशबाट सञ्चालित आयोजनामा पनि पर्याप्त बजेट विनियोजन नहुँदा अपेक्षाकृत रुपमा खानेपानी आयोजनाको निर्माण कार्यलाई तीव्रता दिन नसकिएको बताउनुभयो ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष थानप्रसाद गैरेले उपभोक्तालाई सुरक्षित खानेपानीको पहुँचमा पुर्याउन उपभोक्ता समितिले गुणस्तरमा ध्यान दिनुपर्ने र खानेपानी मात्र नभइ सरसफाइको क्षेत्रमा पनि काम गर्नुपर्नेमा जोड दिनुभयो। खानेपानी महासंघको यो पहलले खानेपानी उपभोक्ता संस्थाहरूबीच सहकार्य, सिकाइ र दिगो व्यवस्थापनको आधार मजबुत बनाउँदै ‘शून्य फोहोर’ अभियानलाई समुदायस्तरसम्म विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको महासंघका जिल्ला सचिव मुक्तिबहादुर भण्डारीले उल्लेख गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस