

मोहन पौडेल
परासी, ४ वैशाख । पश्चिम नवलपरासीबाट निर्वाचित सांसदहरुले नागरिकले सुशासनको महुशस गर्ने वातावरण बनाउँदै विकासमा केन्द्रित हुने प्रतिबद्धता जनाएका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पश्चिम नवलपरासीले विहीबार परासीमा आयोजना गरेको नवनिर्वाचित सांसदलाई बधाई,सम्मान तथा नववर्षको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागि जिल्लाका दुवै क्षेत्रका सांसदहरुले उक्त प्रतिबद्धता जनाएका हुन् ।
नवलपरासी–१ का सांसद विक्रम खनालले नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउन जिल्ला तहबाटै प्रभावकारी काम सुरु गर्नुपर्ने बताउनुभयो । कर्मचारीहरूको अनुभव संकलन गर्दै आवश्यक लविङ गर्ने र झन्झटिलो प्रक्रियालाई हटाएर सहज तथा सरल सेवा प्रवाहको वातावरण बनाउनेतर्फ आफूहरू केन्द्रित रहेको उहाँले बताउनुभयो ।
त्यसका लागि उहाँले जिल्लाका सबै कार्यालयका प्रमुखको बैठक राखेर आवश्यक सुझाव लिने र दिने वातावरण बनाउन प्रमुख जिल्ला अधिकारीसँग आग्रह गर्नुभयो । सांसद खनालले कतिपय कानून संशोधन गर्नुपर्ने अवस्था छ भने केही नयाँ कानून निर्माण गर्न आवश्यक छ। “भोलि गर्ने काम आज र आजको काम अहिले नै गर्ने कार्यसंस्कृति विकास गर्न सके देशका धेरै समस्या समाधान हुन सक्छन्,” उहाँले भन्नुभयो ।
नीति निर्माणसँगै जिल्लाको विकासलाई समेत प्राथमिकतामा राख्दै धार्मिक तथा पर्यटन विकास, प्राकृतिक स्रोतको सदुपयोग र उद्योग प्रवद्र्धनका विषयमा सबै पक्षसँग छलफल गरिने उहाँले बताउनुभयो । जिल्लाको विकास मोडालिटी छलफल गर्न नवलपरासी उद्योग वाणिज्य संघको अगुवाइमा सबै पक्षको सहभागितामा बृहत छलफल गर्न आफू तयार रहेको उहाँले उल्लेख गर्नुभयो ।

यसैगरी नवलपरासी–२ का सांसद नरेन्द्र कुमार गुप्ताले सरकारले विचौलिया निषेध गरेपछि सरकारी सेवा प्रवाह सहज बन्दै गएको बताउनुभयो । सरकारी कार्यालयहरूले नागरिकलाई सिधै सेवा दिन तयार रहेको स्पष्ट सन्देश दिनुपर्नेमा उहाँको जोड थियो । हाल देखिएको रासायनिक मल अभावप्रति चिन्ता व्यक्त गर्दै सांसद गुप्ताले यसको समयमै व्यवस्थापनका लागि संसदमा विषय उठान गरिसकेको जानकारी दिनुभयो ।
महेशपुर भन्सार सञ्चालनमा देखिएका समस्या समाधान गर्न पहल भइरहेको बताउँदै उहाँले क्षेत्रीय पूर्वाधार विकासतर्फ महेशपुर–परासी हुँदै महेन्द्र राजमार्गसँग जोडेर पाल्पा जोड्ने सडकलाई चार लेनमा स्तरोन्नति गर्ने योजना अघि बढाइएको बताउनुभयो । यस्तै रामग्राम स्तूपलगायत बौद्ध स्थलहरूको समग्र विकासका लागि समेत प्रधानमन्त्रीसमक्ष पन्ध्र बुँदे माग पेश गरेको उहाँले उल्लेख गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले विचौलिया विनै प्रशसन कार्यालयमा सेवा लिन आग्रह गर्दै नागरिकलाई सहज र सरल सेवा दिइने बताउनुभयो । उहाँले कतिपय कानूनका कारण नागरिकता वितरणमा समस्या रहेको उल्लेख गर्दै ती कानूनलाई सच्याउन सांसदहरुको ध्यानाकर्षण गराउनुभयो ।
नेपल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति राजेन्द्रप्रसाद अग्रहरीले वर्तमान सरकारको कामको रफ्तारले जनतामा नयाँ आशा जगाएको उल्लेख गर्नुभयो । उहाँले रेडक्रmस जिल्ला शाखाको भवन पूरानो र जिर्ण भइसकेकोले नयाँ सुविधासम्पन्न भवन निर्माणका लागि पहल गरिदिन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका कोषाध्यक्ष हैदर अलि मोमिन, नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरी, वरिष्ठ उपाध्यक्ष नगेन्द्र अग्रहरी, नागरिक समाजका अध्यक्ष बेचु गौड, रेडक्रस पाल्हीनन्दनका संयोजक गुड्डु गुप्तार, जिल्ला उपसमापति कृष्ण लामिछाने लगायतले बोल्दै वर्तमान सरकार र सांसदहरूको सक्रियताले सुशासन, सेवा प्रवाह र समग्र विकासमा सकारात्मक परिवर्तन आउने अपेक्षा व्यक्त गर्नुभएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका कार्यकारी सदस्य अर्जुन बहादुर क्षेत्रीले जानकारी दिनुभयो।
