

परासी, ७ वैशाख । अक्षय तृतीया पर्वको अवसर पारेर पश्चिम नवलपरासीको परासीस्थित बुद्धचोकमा सत्य साई सेवा संगठन, नेपाल अन्तर्गतको सत्य साई केन्द्र परासीले निःशुल्क सातु तथा पानी वितरण गरेको छ।

धार्मिक तथा सामाजिक सेवाको भावनालाई आत्मसात गर्दै आयोजना गरिएको उक्त कार्यक्रमबाट झण्डै आठ सय सर्वसाधारण लाभान्वित भएका छन् । गर्मी बढिरहेको अवस्थालाई मध्यनजर गर्दै यात्रु, मजदुर तथा सर्वसाधारणलाई लक्षित गरी सातु र शीतल पानी वितरण गरिएको सत्य साई केन्द्र परासीका निवर्तमान अध्यक्ष उत्तम गिरीले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
“अक्षय तृतीयाको अवसरमा मानवसेवाका लागि हामीले यो कार्यक्रम आयोजना गरेका थियौँ, करिब ८ सय सर्वसाधारणलाई भेली पानी, सर्वत, सातु खुवाएऔँ, यसले बढ्दो तापक्रमसँगै शीतलता प्रदान गरेको अनूभुति गरेका छौँ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा साई बाबाका अनुयायीहरु स्वयंसेवकको रुपमा सेवा नै धर्म भन्ने सन्देशसहित निस्वार्थ रूपमा सेवामा खटिएका थिए।
कार्यक्रमले समाजमा सहयोग, सहकार्य र मानव सेवाको भावना विकास गर्न टेवा पुग्ने विश्वास लिइएको छ। संस्थाले यसअघि पनि विभिन्न पर्व तथा कार्यक्रमहरुको अवसरमा सामाजिक सेवा कार्यहरु गर्दै आएको छ । आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवसेवामूलक कार्यक्रमलाई निरन्तरता दिने संस्थाले प्रतिबद्धता जनाएको छ ।

