२०८३ बैशाख ४, शुक्रबार
24 खबर अपडेट

सिकाइलाई उपलब्धीमूलक र गुणस्तरीय बनाउन सरावलका बाल विकास सहजकर्तालाई १० दिने मन्टेश्वरी तालिम

२०८३ बैशाख ४, शुक्रबार प्रकाशित ( घण्टा अघि) ५० पाठक संख्या

मोहन पौडेल
परासी, ४ वैशाख । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको आयोजनामा बाल विकास सहजकर्ताहरूका लागि सञ्चालन गरिएको १० दिने मन्टेश्वरी तालिम शुक्रबार सम्पन्न भएको छ।
बालबालिकाको प्रारम्भिक सिकाइलाई थप प्रभावकारी, उपलब्धीमूलक र गुणस्तरीय बनाउने उद्देश्यसहित आयोजित उक्त तालिममा पालिका भित्र रहेका सामुदायिक तथा धार्मिक विद्यालयका ४२ जना बाल विकास सहजकर्ताहरूको सक्रिय सहभागिता रहेको थियो।
तालिममा सहभागी सहजकर्ताहरूलाई शिक्षा विकास तथा समन्वय इकाइ नवलपरासीका शाखा अधिकृत सुवासचन्द्र गौतमसहित सुमित्रा अर्याल,सुधा खनाल लगयतलका प्रशिक्षकहरुबाट बालमैत्री शिक्षण विधि, व्यवहारिक सिकाइ प्रक्रिया, बाल मनोविज्ञानअनुसार कक्षाकोठा व्यवस्थापन, तथा मन्टेश्वरी शिक्षण प्रणालीका आधारभूत सिद्धान्तहरूबारे प्रशिक्षण दिइएको थियो। यसले उनीहरूको पेशागत क्षमता अभिवृद्धि गर्नुका साथै बालबालिकाको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

222

गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले प्रारम्भिक बाल विकास शिक्षाको महत्व उल्लेख गर्दै बालबालिकाको भविष्य निर्माणको आधार नै प्रारम्भिक शिक्षा भएकाले यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादन अपरिहार्य रहेको बताउनुभयो। तालिमले शिक्षकहरूलाई थप जिम्मेवार र परिणाममुखी बनाउने विश्वास व्यक्त गर्दै अध्यक्ष चौधरीले आगामी दिनहरूमा पनि शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
तालिममा सहभागी सहजकर्ताहरूले प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै विद्यालयस्तरमा गुणस्तरीय शिक्षा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको गाउँपालिका उपाध्यक्ष बासमति हरिजनले बताउनुभयो । यो तालिमले सरावल गाउँपालिकाभित्र बाल विकास शिक्षाको स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने उहाँले उल्लेख गर्नुभयो ।
शिक्षा शाखा प्रमुख प्रमोद यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम, शिक्षा शाखाका प्रेम थापा लगायतले पनि तालिमको महत्वबारे प्रकाश पार्नुभएको थियो।

333

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस