

परासी, ४ वैशाख । घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीको आयोजनामा श्रमिक र श्रमिक सञ्जालसँग अन्तरक्रिया कार्यक्रम सुनवलको भूमिहीमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न पेशा तथा व्यवसायमा आबद्ध श्रमिकहरूको सहभागिता रहेको थियो।
इट्टा, निर्माण, पार्लर, सिलाइ तथा होटल व्यवसायमा कार्यरत श्रमिकहरू सहभागी रहेको उक्त कार्यक्रममा श्रमिकका अधिकार, कर्तव्य, सामाजिक सुरक्षा तथा श्रमिक शिक्षासम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा सहजीकरण गर्दै श्रम तथा रोजगार कार्यालय, बुटवलका शाखा अधिकृत ऋषिराम पन्थीले श्रमिकका अधिकार र कर्तव्यबारे स्पष्ट जानकारी गराउँदै श्रमिकहरूले आफ्नो अधिकारसँगै कर्तव्य पनि उत्तिकै जिम्मेवारीपूर्वक पालन गर्नुपर्ने बताउनुभयो । उहाँले सामाजिक सुरक्षाको अवधारणा, सौदावाजीको महत्व तथा श्रमिक शिक्षाले श्रमिकलाई सशक्त बनाउने विषयमा जोड दिनुभयो ।
“श्रमिकले आफ्नो अधिकार जान्नु र प्रयोग गर्नु अत्यन्त आवश्यक छ, साथै, सामाजिक सुरक्षा योजनामा आबद्धता बढाउनु आजको आवश्यकता हो।” पन्थीले भन्नुभयो ।

त्यस्तै, घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका प्रमुख मोहन पाण्डेले कार्यालयबाट प्रवाह हुने विभिन्न सेवा र सुविधा बारे जानकारी दिँदै श्रमिक तथा साना उद्यमीहरूले ती सेवाहरूको अधिकतम उपयोग गर्न आग्रह गर्नुभयो । “हामीले प्रवाह गर्ने सेवाहरू श्रमिक र साना उद्यमीलाई लक्षित छन्,यस्ता कार्यक्रमले जानकारीको पहुँच बढाएर आत्मनिर्भरता प्रवद्र्धन गर्छ।” उहाँले भन्नुभयो ।
कार्यक्रमकी प्रमुख अतिथि सुनवल नगरपालिकाकी मेयर बिमला अर्यालले श्रमिकहरूको सम्मान र संरक्षण बिना दिगो विकास सम्भव नहुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “श्रमिकहरू राष्ट्र निर्माणका मेरुदण्ड हुन्,उनीहरूको अधिकार सुनिश्चित गर्नुका साथै सीप विकास र सामाजिक सुरक्षामा पहुँच विस्तार गर्नु स्थानीय तहको प्राथमिकता हो।”
कार्यक्रमले श्रमिकहरूमा अधिकारप्रति सचेतना अभिवृद्धि गर्नुका साथै राज्यबाट उपलब्ध सेवाहरूको उपयोगबारे जानकारी गराउन महत्वपूर्ण भूमिका खेलेको घरेलु तथा साना उद्योग कार्यालयका उद्यम विकास सहजकर्ता मनोज कुमार चौधरीले बताउनुभयो । “यस अन्तरक्रिया कार्यक्रमले श्रमिक र सम्बन्धित निकायबीच समन्वय र सहकार्य थप मजबुत बनाउने अपेक्षा गरिएको छ।”, उहाँले भन्नुभयो ।

