२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

रोटरी क्लब अफ नवलपरासीको पाँचौ स्थापना दिवस : परासी निलोगेटमा बूद्धमूर्ति स्थापना

२०८१ भाद्र १०, सोमबार प्रकाशित ( हफ्ता अघि) ४२१ पाठक संख्या

मोहन पौडेल
परासी, १० भदौ । रोटरी क्लब अफ नवलपरासीले सदरमुकाम परासीस्थित रामग्राम–१ निलोगेट नजिकै बुद्धमूर्ति स्थापना गरेको छ । क्लबले आफ्नो पाँचौ स्थापना दिवसको अवसरमा रामग्राम नगरमा प्रवेश गर्ने पर्यटकलाई स्वागत गर्न र रामग्रामको प्रवद्र्धन गर्न बूद्धमूर्ति स्थापना गरेको जनाएको छ ।
निलोगेटमा आज आयोजित विशेष कार्यक्रममा रामग्राम नगरपालिकाका मेयर धनपत यादवले उक्त बुद्धमूर्तिको अनावरण गर्नुभयो । उक्त अवसरमा बोल्दै मेयर यादवले रोटरी क्लबले नवलरासीमा सामाजिक उत्तरदायित्व बहन गर्दै उत्कृष्ट काम गरेको बताउनुभयो । उहाँले आफूले रामग्राम स्तूपको प्रवद्र्धन र विकासका लागि निरन्तर गर्दै आएको पहलमा आज थप एक ईट्टा थपिएको महशुस गरेको बताउनुभयो ।
रामग्रामको विकास र सौन्दर्यीकरणको क्षेत्रमा काम गर्न नगरमा क्रियाशील संघ संस्थालाई आह्वान गर्दै नगर प्रमुख यादवले त्यसमा नगरपालिकाले साथ दिने बताउनुभयो । यस क्षेत्रको गहनाको रुपमा रहेको रामग्राम स्तूप र पण्डितपुरको विकासका लागि यस वर्ष नगरपालिकाबाट रु ४० लाख बजेट विनियोजन गरेको जानकारी गराउँदै नगर प्रमुख यादवले नगरको सुन्दरीकरणमा साथ दिन सम्पूर्ण नगरवासीमा आग्रह गर्नुभयो ।
रोटरी क्लबका डिष्ट्रिक अवार्ड चेयर एजाज आलमले कोरोना कालमा स्थापना भएको रोटरी क्लब नवलपरासीले चुनौतीकाबीच सामाजिक क्षेत्रमा थुप्रै महत्वपूर्ण काम गर्न सफल भएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि थप फरक खालका सामाजिक काम गर्न जोड दिनुभयो ।
रोटरी क्लव अफ नवलपरासी वर्ष २०२४।२५ का अध्यक्ष सुनिल कसौधनले स्वार्थ भन्दा माथि सेवाको भावना राखेर क्लबले विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले यस वर्ष एक हजार विरुवा रोपण गर्ने, स्वास्थ्य शिविर सञ्चालन गर्ने,असशक्तहरुलाई ह्वील चेयर वितरण गर्ने लगायतका कार्यक्रम सञ्चालन गर्ने जानकारी पनि दिनुभयो ।
क्लबका संस्थापका अध्यक्ष सुमन गोपाल आचार्यले यस क्षेत्रमा सामाजिक सेवा गर्ने उद्देश्यका साथ रोटरी क्लब नवलपरासीको स्थापना गरिएको बताउनुभयो । क्लबले यस जिल्लामा ह्वील चेयर वितरण, वृक्षारोपण, आँखाको शल्यक्रिया, निःशुल्क स्वास्थ्य शिविर लगायतका विविध कार्यक्रमका साथ सामाजिक सेवा गरिरहेको बताउँदै आचार्यले रोटरी क्लबका सदस्यहरुले आफ्नो व्यक्तिगत खर्चमा सेवाको भावले काम गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा रामग्राम नगरपालिकाकी उपमेयर सम्झना चौधरी, वडा नं. १ का वडा अध्यक्ष रुद्रप्रकाश उपाध्याय, नागरिक समाजका अध्यक्ष राधेश्याम सिंह सैथवार,रोटरी क्लव अफ नवलपरासीकी प्रेसिडेन्ट ईलेक्ट उर्मिला अग्रहरी लगायतले शुभकामना व्यक्त गर्नुभएको क्लवकी सहसचिव सुमित्रा चौधरीले जानकारी दिनुभयो । सन् २०२० को अगस्ट २६ मा स्थापना भएको रोटरी क्लव अफ नवलपरासीले आज बूद्धमूर्ति स्थापना, दीपप्रज्वलन तथा शुभकामना आदानप्रदान गरि स्थापना दिवस मनाएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%१%

प्रतिक्रिया दिनुहोस