

परासी, २१ जेठ । लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवालले जिल्लामा देखिएको रासायनिक मलको अभावप्रति सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
उहाँले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र लुम्बिनी प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउँदै किसानलाई सहज रूपमा मल उपलब्ध गराउन माग गर्नु भएको हो ।
उहाँले जिल्लाको गोदाममा स्टक रहेको सात सय मेट्रिक टन तत्काल वितरण गर्न र नवलपरासीलाई दिइने कोटा बढाउन माग गर्नुभयो ।
ज्ञापन पत्रमा नेपालको अधिकांश नागरिकको मुख्य जीविकोपार्जनको आधार कृषि क्षेत्र भए पनि आवश्यक समयमा पर्याप्त मल उपलब्ध हुन नसक्दा उत्पादनमा असर परेको उल्लेख गरिएको छ। विशेषगरी धान रोपाइँको समयमा मल अभावका कारण किसानहरू समस्यामा परेको जनाइएको छ।
प्रदेश सांसद जयसवालले सरकारले मल खरिदका लागि बजेट विनियोजन गरे पनि समयमा आपूर्ति हुन नसक्नु दुःखद भएको उल्लेख गर्दै भारतबाट ल्याइने भनिएको मलसमेत हालसम्म नआएको भन्दै तत्काल पहल गर्न माग गर्नुभयो । साथै, जिल्लाको आवश्यकता अनुसार पर्याप्त मल उपलब्ध गराउन र सहज वितरण प्रणाली मिलाउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
ज्ञापन पत्रमार्फत किसानलाई मलको अभाव हुन नदिने दीर्घकालीन योजना बनाउन, कृषि क्षेत्रको विकासका लागि बजेट वृद्धि गर्न तथा आधुनिक कृषि प्रणाली विस्तार गर्न पनि सरकारसँग माग गरिएको छ।
प्रदेश सभा सदस्य जयसवालले कृषि प्रधान देश नेपालमा किसानलाई समयमै मल उपलब्ध गराउनु सरकारको दायित्व भएको भन्दै यस विषयमा शीघ्र समाधान गर्न जोड दिनुभएको छ।
