

मोहन पौडेल
परासी, १८ जेठ । थारु समुदायका मौलिक तथा परम्परागत खानालाई संरक्षण गर्दै व्यवसायिक उत्पादन र बजारीकरणसँग जोड्ने उद्देश्यले पश्चिम नवलपरासीका थारु युवाहरुलाई विशेष तालिम सञ्चालन गरिएको छ ।
लुम्बिनी प्रदेश सरकार अन्तर्गतको पर्यटन डिभिजन कार्यालय रुपन्देहीको आयोजनामा तथा थारु कल्याणकारीणी सभा नवलपरासीको समन्वयमा सरावल गाउँपालिका–२ मनरीस्थित थारु रिर्सोटमा सोमबारदेखि पाँच दिने ‘थारु समुदायको परम्परागत खानाको व्यवसायिक उत्पादन सम्बन्धी तालिम’ शुरु गरिएको हो ।
तालिममा जिल्लाका विभिन्न पालिकाका ३५ जना थारु महिला तथा पुरुषको सहभागिता रहेको छ। सहभागीहरूलाई थारु समुदायमा प्रचलित परम्परागत खानाको तयारी, गुणस्तर व्यवस्थापन, व्यवसायिक उत्पादन, प्याकेजिङ, बजारीकरण तथा उद्यम विकासका विषयमा व्यावहारिक ज्ञान र सीप प्रदान गरिने जनाइएको छ।

पछिल्ला वर्षहरूमा आधुनिक जीवनशैलीको प्रभावसँगै थारु समुदायका कतिपय मौलिक परिकार ओझेलमा पर्न थालेका बेला यस्ता परम्परागत खानालाई संरक्षण गर्दै आर्थिक आम्दानीको स्रोतका रूपमा विकास गर्ने लक्ष्यसहित तालिम सञ्चालन गरिएको प्रशिक्षक एवं अभियान्ता बालिका चौधरीले बताउनुभयो ।
“पर्यटनसँग प्रत्यक्ष जोडिएको स्थानीय खानाको प्रवद्र्धनले थारु संस्कृतिको पहिचान जोगाउनुका साथै ग्रामीण पर्यटन र स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुग्ने विश्वास गरिएको छ” उहाँले भन्नुभयो, “तालिममार्फत सहभागीहरूलाई स्वरोजगार तथा साना उद्यम स्थापना गर्न प्रेरित गरिनेछ।”
स्थानीय स्तरमा उपलब्ध स्रोत–साधनको उपयोग गरी परम्परागत स्वादलाई आधुनिक बजारसँग जोड्ने प्रयासस्वरूप सञ्चालन गरिएको यस तालिमले थारु समुदायको सांस्कृतिक सम्पदाको संरक्षण र आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको प्रशिक्षक सोम थारुले उल्लेख गर्नुभयो ।
