

मोहन पौडेल
परासी, २ असार । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–४ स्थित सुनवल युनाइटेड अंग्रेजी आवासीय माध्यमिक विद्यालयमा राष्ट्रिय सेवा दलको तीन महिने तालिम सुरु गरिएको छ।
गोरखदल गण रामग्रामका गणपति प्रमुख सेनानी सुरेन्द्रजंग थापाले प्रथम प्रवचनसहित तालिमको उद्घाटन गर्दै राष्ट्रिय सेवा दलको तालिमले विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता, राष्ट्रप्रेम तथा जिम्मेवारीबोधको विकास गर्ने बताउनुभयो।
प्रमुख सेनानी थापाले विद्यार्थी जीवनमै प्राप्त हुने यस्ता तालिमले भविष्यमा सक्षम, अनुशासित र जिम्मेवार नागरिक निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो। उहाँले राष्ट्रिय सेवा दलको प्रशिक्षण केवल सैनिक ज्ञानमा सीमित नभई व्यक्तित्व विकास र सामाजिक उत्तरदायित्वसँग समेत जोडिएको बताउनुभयो।
विद्यालयका प्रधानाध्यापक धनराज चापागाइले विद्यालयमा शुरु भएको तालिमले विद्यार्थीहरूमा सकारात्मक सोच, नेतृत्व क्षमता र आत्मविश्वास अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो। विद्यालय परिसरमा आयोजित कार्यक्रममा गोरखदल गणका उपसेनानी प्रभा बस्नेत, शिक्षक–शिक्षिका, सैन्य प्रशिक्षक, अभिभावक तथा छनोट भएका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
गोरखदल गण परासीको समन्वयमा सञ्चालन हुने उक्त तालिम तीन महिनासम्म विद्यालयमै सञ्चालन गरिने जनाइएको छ। तालिममा विद्यालयका ३० जना विद्यार्थी सहभागी रहेको विद्यालयले जनाएको छ । प्रशिक्षण अवधिभर विद्यार्थीलाई शारीरिक अभ्यास, नेतृत्व विकास, विपद् व्यवस्थापन, टोली भावना, अनुशासन तथा राष्ट्रसेवासम्बन्धी विभिन्न विषयमा प्रशिक्षण प्रदान गरिने विद्यालयका प्रिन्सिपल चापागाइले बताउनुभयो ।
