२०८३ जेष्ठ १३, बुधबार
24 खबर अपडेट

रामग्रामको देवगाउँमा सारस संरक्षणका लागि सामुदायिक सचेतना

२०८३ जेष्ठ १३, बुधबार प्रकाशित ( घण्टा अघि) ४६ पाठक संख्या

परासी, १३ जेठ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१७ देवगाउँमा दुर्लभ पंक्षी सारस संरक्षणका लागि सामुदायिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। स्थानीय समुदायको सक्रिय सहभागितामा आयोजित उक्त कार्यक्रमले जैविक विविधता संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको थियो।
कार्यक्रममा वक्ताहरूले सारस चराको संरक्षण वातावरणीय सन्तुलनसँगै स्थानीय सांस्कृतिक पहिचानसँग पनि जोडिएको बताएका थिए । डिभिजन वन कार्यालय नवलपरासीको सहयोगमा वातावरणीय प्रदुषण चेतना र न्यूनीकरणका लागि राष्ट्रिय संगठन(नारेप)को आयोजनामा भएको उक्त कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालयका प्रमुख राजु क्षेत्रीले पछिल्ला वर्षहरूमा बासस्थान विनाश, कृषिमा प्रयोग हुने विषादी तथा मानव हस्तक्षेपका कारण सारसको संख्या घट्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले यसको संरक्षणमा सबैको साझा जिम्मेवारी रहनुपर्नेमा जोड दिनुभयो ।
प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवालले सारस संरक्षणका लागि प्रदेश सरकारसँग पहल गरी आवश्यक बजेट विनियोजन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नारेपका उपाध्यक्ष हैदर अलि मोमिनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सारसको बासस्थान संरक्षण, सुरक्षित प्रजनन वातावरण निर्माण र सचेत व्यवहार अपनाउने विषयमा प्रशिक्षण समेत दिइएको थियो।
सामुदायिक सहकार्य बिना संरक्षण सम्भव नहुने भन्दै अभियान्ता एवं पत्रकार बेचु गौडले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । रामग्राम–१७ का वडा अध्यक्ष कन्हैया मौर्यले यस क्षेत्रमा सारस र गोही संरक्षणमा सक्रिय भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सोही अवसरमा नारेपका अध्यक्ष सुदर्शन खरबार, नेपाल रेडक्रस सोसाइटी देवगाव उपशाखाका सभापति रामउग्र यादव, पत्रकार मोहन पौडेल लगायतले पनि आआफनो धारणा व्यक्त गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस