२०८३ अषाढ ३, बुधबार
24 खबर अपडेट

ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

२०८३ अषाढ ३, बुधबार प्रकाशित ( घण्टा अघि) ८५ पाठक संख्या

परासी,३ असार । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–५ हर्दीयास्थित पूर्व–पश्चिम राजमार्गमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन्।
गएराति पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु ३ त ६७१८ नम्बरको ट्र्याक्टर र विपरीत दिशाबाट जाँदै गरेको लु ४६ प २३८४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ ढवाह निवासी ३० वर्षीय राजन गौतमको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी मदन थापाले जानकारी दिनुभयो ।
गम्भीर घाइते राजनलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल परासी ल्याइएकोमा चिकित्सकले राति नै मृत घोषणा गरेका हुन्। मृतकको शव हाल जिल्ला अस्पताल परासीमा राखिएको छ।
त्यसैगरी मोटरसाइकलमा पछाडि सवार बुटवल -११ का २६ वर्षीय विक्रम गौतम गम्भीर घाइते भएका छन्। उनको रुपन्देहीस्थित देवदह मेडिकल कलेज भलुहीमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस