

परासी, २ असार । पश्चिम नवलपरासीको सुनवल–मा सम्पन्न तेस्रो वडा अध्यक्ष कप कराते प्रतियोगितामा सहभागि भइ उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्न सफल विद्यार्थीहरूलाई सुनवल युनाइटेड अंग्रेजी आवासीय माध्यमिक विद्यालय सुनवलले सम्मान गरेको छ।
जिल्ला कराते महासंघ नवलपरासीद्वारा सुनवल–३, कीर्तिपुरमा आयोजित प्रतियोगितामा विद्यालयबाट सहभागी ११ जना विद्यार्थीमध्ये ७ जनाले विभिन्न तौल समूह तथा काता विधामा गरी कुल ८ वटा पदक जित्न सफल भएका थिए। विद्यार्थीहरूले प्राप्त गरेको सफलताको उपलब्धिले विद्यालयको खेलकुद क्षेत्रमा बढ्दो सक्रियतालाई थप उजागर गरेको छ।
प्रतियोगितामा विद्यार्थी सृजन रानाले ४५ केजी तौल समूहमा द्वितीय तथा काता विधामा तृतीय स्थान हासिल गर्दै दुई पदक जितेका थिए भने रिजन गाहाले काता विधामा द्वितीय, रिजन पौडेलले ३५ केजी तौल समूहमा द्वितीय, नामसिन सारुले २५ केजी तौल समूहमा द्वितीय, सुदिप बस्यालले ४५ केजी तौल समूहमा तृतीय, मान्भी न्यौपानेले ३५ केजी तौल समूहमा तृतीय तथा रुचिका बौडेलले ३० केजी तौल समूहमा तृतीय स्थान प्राप्त गरेका थिए।
विद्यार्थीहरूको उपलब्धिलाई कदर गर्दै प्रिन्सिपल धनराज चापागाईले विजेता विद्यार्थीहरूलाई खादा, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभयो। उहाँले खेलकुदले अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शनका लागि विद्यार्थीहरूलाई शुभकामना दिनुभयो। “कराते प्रतियोगितामा प्राप्त यो सफलताले विद्यालयको खेलकुद यात्रामा नयाँ उत्साह थप्नुका साथै विद्यार्थीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण योगदान पु¥याएको हामीले विश्वास गरेका छौँ।” उहाँले भन्नुभयो ।
विद्यालयको अतिरिक्त क्रियाकलाप विभागको समन्वयमा सम्पन्न सम्मान कार्यक्रममा शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो। विद्यालयले शैक्षिक उपलब्धिसँगै खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई प्रोत्साहन गर्दै आएको जनाएको छ।
