

परासी,१८ जेठ । नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा पश्चिम नवलपरासीको नयाँ नेतृत्व चयन भएको छ। भूमहीमा सम्पन्न संघको छैटौँ साधारणसभा तथा तेस्रो जिल्ला अधिवेशनले बर्दघाटका अवधेस यादवको अध्यक्षतामा सर्वसम्मत रूपमा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा अन्जनी श्रेष्ठ, महासचिवमा दीपक ज्ञवाली, सचिवमा सुनिल चौधरी, कोषाध्यक्षमा रामप्रसाद चौधरी तथा उपकोषाध्यक्षमा अखिलेस पासवान चयन हुनुभएको छ। त्यस्तै सदस्यहरूमा सन्तोष गुप्ता, किशोर चौधरी, नरबहादुर आले र गोविन्द यादव लगायत निर्वाचित हुनुभएको संघले जनाएको छ ।
संघका निवर्तमान अध्यक्ष डा. हेमन्तराज न्यौपानेको अध्यक्षता तथा लुम्बिनी प्रदेश अध्यक्ष लुकराज न्यौपानेको प्रमुख आतिथ्यमा उद्घाटन सत्र सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै प्रदेश अध्यक्ष न्यौपानेले औषधि व्यवसायीहरूको हकहित, पेशागत सुरक्षा तथा व्यवसायिक अधिकारका लागि संघ सदैव प्रतिबद्ध रहने बताउनुभयो।
उहाँले औषधि व्यवसायलाई थप व्यवस्थित, मर्यादित र व्यवसायीमैत्री बनाउन संघले प्रदेश तथा जिल्लास्तरमा आवश्यक पहल जारी राख्ने उल्लेख गर्नुभयो। स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख अंगदबहादुर शाहीले औषधि व्यवसाय सञ्चालन गर्दा प्रचलित कानुन, नियम र मापदण्डको पूर्ण पालना गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले सेवामुखी, जिम्मेवार र सम्मानजनक ढंगबाट व्यवसाय सञ्चालन गर्न व्यवसायीहरूलाई आग्रह गर्नुभयो।
संघका निवर्तमान महासचिव बाबुराम तिमिल्सिनाका अनुसार अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायिक क्षमता अभिवृद्धि तथा औषधि क्षेत्रको गुणस्तरीय सेवा प्रवाहमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ।
