२०८३ जेष्ठ १२, मंगलबार
24 खबर अपडेट

बर्दघाटको निरकु माविमा चलखेल:शिक्षक सरुवामा विधि मिचेर नाङ्गो हस्तक्षेप

२०८३ जेष्ठ १२, मंगलबार प्रकाशित ( घण्टा अघि) ६० पाठक संख्या

परासी, १२ जेठ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१२ स्थित नित्यानन्द रत्नकुमारी माध्यमिक विद्यालयमा गणित विषयको रिक्त स्थायी शिक्षक पदका लागि खोलिएको सरुवा सहमतिको विज्ञापन विवादमा परेको छ।

आवेदन परिसकेको अवस्थामा विद्यालय व्यवस्थापन समितिले उक्त विज्ञापन नै रद्द गरेपछी शिक्षक सरुवा प्रक्रियामा चलखेल भएको तथ्य बाहिरिएको हो ।

विद्यालय व्यवस्थापन समितिले गत वैशाख १६ गते गणित शिक्षक सरुवा सहमतिका लागि नगरपालिकाको शिक्षा शाखामा पत्राचार गरेको थियो। सोही आधारमा प्रक्रिया अघि बढ्दै जाँदा विभिन्न शिक्षकहरूले आवेदनसमेत दिएका थिए।

Messenger_creation_1EB2F1D0 C175 46AC 823F ABD92BFF35A1

तर आवेदन परिसकेपछि विद्यालय व्यवस्थापन समितिको निर्णयबाट प्रक्रिया खारेज गर्ने प्रयास भएको भन्दै विवाद चुलिएको छ।

आवेदन दिएका केही शिक्षकहरूले आफूअनुकूल शिक्षक ल्याउने वातावरण नबनेपछि प्रक्रिया नै रोक्न खोजिएको आरोप लगाएका छन्।

उनीहरूका अनुसार कार्यविधिअनुसार आवेदन परिसकेको अवस्थामा विज्ञापन रद्द गर्न नमिल्ने स्पष्ट व्यवस्था हुँदाहुँदै पनि विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, वडा नम्बर १२ का वडा अध्यक्ष उमाशंकर चौधरी तथा केही स्थानीय नेतृत्वको दबाबमा प्रक्रिया रोक्ने प्रयास भएको स्रोतले बताएको छ ।

शिक्षा विकास तथा समन्वय इका परासीका प्रमुख महेन्द्र सुबेदीले आवेदन परिसकेको अवस्थामा प्रक्रिया रद्द गर्न कानुनी रूपमा नमिल्ने बताउनुहुन्छ ।

“२२ गते अगावै परेको आवेदन पुरानै कार्यविधिअनुसार प्रक्रिया अघि बढाउनुपर्छ, शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट समेत सोही अनुसार सूचना प्रकाशित भएको छ”,उहाँले भन्नुभयो, “विज्ञापन खारेज गरिएको भन्ने सुनिएको छ तर आधिकारिक जानकारी आएको छैन,अहिले आएर प्रक्रिया रद्द गर्न कार्यविधिले मिल्दैन।”

श्रोतका अनुसार प्रारम्भमा व्यवस्थापन समिति र स्थानीय नेतृत्वकै सहमतिमा विज्ञापन खोलिएको भए पनि आफूहरूले चाहेका शिक्षक बरियताक्रममा पछि परेपछि अहिले बाहिरी जिल्लाबाट शिक्षक ल्याउने तयारी गरिएको आरोप छ। गुल्मीमा कार्यरत एक शिक्षकलाई सरुवा सहमति दिलाएर सिधै नियुक्त गर्ने योजना बनाइएको दाबीसमेत गरिएको छ।

बर्दघाट नगरपालिका शिक्षा शाखाका प्रमुख शिक्षा अधिकृत डिल्लिराम ढुंगानाले प्रक्रिया रद्द गर्न विभिन्न तहबाट दबाब आइरहेको संकेत गर्नुभयो । उहाँले विधि र प्रक्रियाअनुसार नै अघि बढ्ने बताउनुभएको छ ।

घटनापछि विद्यालयको शिक्षक व्यवस्थापन प्रक्रिया पारदर्शी नभएको भन्दै स्थानीय स्तरमा चासो बढेको छ। सरुवा सहमतिजस्तो संवेदनशील विषयमा राजनीतिक तथा व्यक्तिगत प्रभाव हाबी भएको भन्दै आलोचना भइरहेको छ।

नाम उल्लेख नगर्ने सर्तमा एक शिक्षकले अख्तियारसहित सम्बन्धित निकायमा उजुरी गर्ने तयारी भइरहेको बताएका छन्।

बर्दघाट क्षेत्रमा शिक्षक सरुवा प्रक्रिया विगतदेखि नै विवादित बन्दै आएको भन्दै यस घटनाले शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप पुनः उजागर गरेको स्थानीयको टिप्पणी छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस