

मीना केसी
सुनवल, १० जेठ । क्षत्री समाज नेपाल जिल्ला कार्य समिति पश्चिम नवलपरासीको आयोजनामा सुनवल नगरपालिका–५ बनकट्टीस्थित नेपाल राममन्दिर संरक्षण समिति सभाहलमा सञ्चालन गरिएको एक दिने निःशुल्क आँखा जाँच शिविरबाट ३३८ जना स्थानीयले आँखा परीक्षण तथा उपचार सेवा लिएका छन्।
आइतबार सम्पन्न शिविरमा परीक्षणका क्रममा ३६ जना मोतिबिन्दुका बिरामी पहिचान भएका छन् । उनीहरुको बुटवल लायन्स आँखा अस्पतालमा पूर्ण रूपमा निःशुल्क शल्यक्रिया गरिनेछ। बिरामीहरूको आवतजावत व्यवस्थासमेत आयोजकले नै मिलाउने जनाएको छ।
शिविरमा सहभागीलाई आवश्यक औषधि तथा चस्मा निःशुल्क तथा सहुलियत दरमा वितरण गरिएको थियो। बुटवल लायन्स आँखा अस्पताल र क्षत्री समाज नेपालको संयुक्त आयोजनामा सम्पन्न यस कार्यक्रमले स्थानीय तहमा स्वास्थ्य सेवा पहुँच विस्तार गर्नुका साथै नागरिकमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएको क्षत्री समाज नेपाल नवलपरासीका अध्यक्ष मनोज कुमार कार्कीले बताउनुभयो ।
जिल्ला अध्यक्ष कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. ५ का अध्यक्ष नेत्रलाल शर्मा तिवारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा बुटवल लायन्स आँखा अस्पतालका अध्यक्ष महेश प्रसाद श्रेष्ठ तथा कार्यक्रम संयोजक मनोहर न्यौपानेको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मोहन कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन जिल्ला सचिव क्या. यमबहादुर खत्रीले गर्नुभएको थियो। शिविरमा नेत्र सहायक अनुषा ज्ञवाली, मुना रिजाल, अस्मिता थारु लगायतको प्राविधिक टोली सक्रिय रह्यो भने औषधि तथा चस्मा व्यवस्थापनमा अमर चौधरी र मदन बास्तोलाले भूमिका निर्वाह गर्नुभएको थियो ।
