

मोहन पौडेल
परासी, २८ जेठ । पश्चिम नवलपरासीको परासीस्थित सयपत्री माध्यमिक विद्यालयमा अध्ययनरत १०८ जना विद्यार्थीलाई (सरल पठनीय) श्रीमद्भगवद ‘गीता’ वितरण गरिएको छ। संस्कारयुक्त शिक्षा, नैतिक मूल्य तथा सकारात्मक सोचको विकास गर्ने उद्देश्यले गीता परिवार नेपालले उक्त पुस्तक वितरण गरेको हो ।
बिहीबार विद्यालयमा आयोजित विशेष कार्यक्रममा गीता परिवारकी प्रमुख प्रशिक्षक अनामिका सिंहको नेतृत्वमा कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीहरूलाई सरल पठनीय श्रीमद्भगवद गीता हस्तान्तरण गरिएको थियो। सो अवसरमा विद्यार्थीहरूलाई गीताको महत्व, यसको जीवनोपयोगी शिक्षा तथा व्यवहारिक पक्षबारे जानकारी दिइएको थियो।
प्रमुख प्रशिक्षक सिंहले गीता केवल धार्मिक आस्थासँग मात्र सम्बन्धित नभई जीवन व्यवस्थापन, आत्मअनुशासन, सकारात्मक सोच र सही निर्णय क्षमताको अनुपम स्रोत भएको बताउनुभयो। उहाँले विद्यार्थीहरूले सानै उमेरदेखि गीताको अध्ययन र अभ्यास गर्न सके जीवनमा आउने चुनौतीहरू सामना गर्न सहज हुने तथा नैतिक र जिम्मेवार नागरिकका रूपमा विकसित हुन मद्दत पुग्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले श्रीमद्भगवद गीता मानव जीवन जिउने कला सिकाउने अद्वितीय ग्रन्थ भएको उल्लेख गर्दै यसको शिक्षालाई व्यवहारमा उतार्न विद्यार्थीहरूलाई प्रेरित गर्नुभयो। गीता अध्ययनले आत्मविश्वास, कर्तव्यबोध, सहिष्णुता र नेतृत्व क्षमताको विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।
गीता वितरणका लागि विद्यालयका संस्थापक रामप्रसाद पाण्डे, समाजसेवी अमरचन्द्र अग्रवाल तथा उमाशंकर उपाध्यायको विशेष सहयोग रहेको थियो ।
विद्यालयका संस्थापक पाण्डेले पछिल्लो समय प्रविधिको बढ्दो प्रयोगसँगै विद्यार्थीहरूमा नैतिक मूल्य, संस्कार र मानवीय संवेदनशीलता विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले गीता जस्ता जीवनोपयोगी ग्रन्थले विद्यार्थीलाई सही मार्गमा अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
प्रमुख प्रशिक्षक अनामिका सिंहले विगत तीन महिनादेखि विद्यालयमा साप्ताहिक रूपमा प्रत्यक्ष तथा दैनिक रूपमा अनलाइन माध्यमबाट सरल पठनीय गीता सम्बन्धी कक्षा सञ्चालन गर्दै आउनुभएको छ। गीता शिक्षाप्रति विद्यार्थीहरूको बढ्दो आकर्षणले विद्यालयमा नैतिक तथा आध्यात्मिक शिक्षाप्रतिको रुचि थप विस्तार हुँदै गएको विद्यालयले जनाएको छ । कार्यक्रममा सहभागीहरूले यस्ता गतिविधिले विद्यार्थीहरूमा नैतिक शिक्षा, सकारात्मक सोच र असल संस्कार विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

