२०८३ अषाढ २, मंगलबार
24 खबर अपडेट

उपभोक्ता हित संरक्षण मञ्च नवलपरासीद्धारा पवन माविका विद्यार्थीहरूलाई उपभोक्ता अधिकार सम्बन्धी सचेतना

२०८३ अषाढ २, मंगलबार प्रकाशित ( घण्टा अघि) ६३ पाठक संख्या

परासी, २ असार । आजका विद्यार्थी भोलिका जिम्मेवार नागरिक मात्र होइनन्, सचेत उपभोक्ता पनि हुन् भन्ने सन्देशका साथ पश्चिम नवलपरासीको परासीस्थित पवन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई उपभोक्ता अधिकार सम्बन्धी सचेतना प्रदान गरिएको छ।
उपभोक्ता हित संरक्षण मञ्च, जिल्ला समिति नवलपरासीको आयोजना तथा रामग्राम नगरपालिकाको सहयोगमा सम्पन्न कार्यक्रमका वक्ताहरूले उपभोक्ता अधिकारको संरक्षणका लागि बालबालिका र युवापुस्तालाई प्रारम्भदेखि नै सचेत बनाउनुपर्नेमा जोड दिएका थिए ।
संस्थाका अध्यक्ष भोजराज बराकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरी ले सचेत उपभोक्ताले मात्र स्वस्थ बजार र उत्तरदायी व्यवसायिक वातावरण निर्माण गर्न सक्ने भन्दै नगरपालिकाले उपभोक्ता शिक्षा विद्यालय तहबाटै सुरु गरेको बताउनुभयो ।
उपप्रमुख चौधरीले गुणस्तरीय वस्तु तथा सेवा छनोट, बिल लिने बानीको विकास र उपभोक्ता अधिकारबारे जानकारी राख्नु प्रत्येक नागरिकको दायित्व भएको उल्लेख उल्लेख गर्नुभयो । “हामी सबै उपभोक्ता हौँ, हामीले अधिकारको प्रयोगसँगै कर्तव्यको पालना पनि उत्तिकै आवश्यक छ,” उहाँले भन्नुभयो ।

Up22

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अरविन्द पाठकले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा व्यवहारिक ज्ञान अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले विद्यालय शिक्षालाई पुस्तकमा सीमित नराखी जीवनोपयोगी विषयसँग जोड्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष भोजराज बराकोटीले उपभोक्ता अधिकार संरक्षणका लागि सचेतना नै सबैभन्दा प्रभावकारी माध्यम भएको धारणा राख्नुभयो । “उपभोक्ता सचेत भए बजार आफैं अनुशासित बन्छ,” उहाँले भन्नुभयो ।
संस्थापक अध्यक्ष रामजी ज्ञवालीले उपभोक्ताका मौलिक अधिकार, कर्तव्य, गुनासो सम्बोधन प्रक्रिया तथा उपभोक्ता संरक्षणसम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी गराउनुभयो । सचेत उपभोक्ता नै ठगीविरुद्धको सबैभन्दा बलियो सुरक्षा कवच भएको उल्लेख गर्दै उहाँले विद्यार्थीहरूलाई दैनिक जीवनमा सिकेका कुराको अभ्यास गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष बराकोटी र उपाध्यक्ष मोहन पौडेलले बजारमा हुने विभिन्न प्रकारका ठगी, गुणस्तरहीन वस्तुको पहिचान तथा उपभोक्ताले अपनाउनुपर्ने सावधानीबारेमा प्रकाश पार्नुभएको संस्थाका सचिव ध्रुवराज ज्ञवालीले बताउनुभयो । विद्यालय तहदेखि नै उपभोक्ता सचेतना विस्तार गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

Up33

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस