२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

जनताका मुद्दा उठान गर्दै उच्च मनोबलका साथ अघि बढ्नुस् – एमाले उपमहासचिव ज्ञवाली

२०७९ श्रावण २८, शनिबार प्रकाशित ( साल अघि) १२९३ पाठक संख्या

मोहन पौडेल
परासी, २८ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जनताका मुद्दा उठान गर्दै जनतासँगको सामिप्यता बढाउन आग्रह गर्नुभएको छ । जनताको समस्या पर्दा सबभन्दा पहिला अघि सर्ने पार्टी एमाले भएको बताउँदै उहाँले दुःख पर्दा एमालेलाई सम्झने वातावरण बनाउन निर्देशन दिनुभयो ।
नेकपा एमाले जिल्ला कमिटी नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को आयोजनामा आज बर्दघाटमा सम्पन्न बृहत प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिदैँ नेता ज्ञवालीले जनताले भोगिरहेका समस्या उठान गर्न आदेश पर्खिनुनपर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “अहिले हाम्रो र जनताको सम्बन्ध पातलिएको छ, एमालेको सामथ्र्य,उर्जा भनेको जनतालाई जतिबेला समस्या पथ्र्याे, हामी त्यत्तिबेला सबभन्दा अग्रसर भएर भूमिका खेल्थ्यौँ,आगलागी हुँदा स्वयमसेवक भएर सबभन्दा अघि पुग्थ्यो, सुकुम्बासीको बारेमा सबभन्दा पहिला एमाले बोल्थ्यो,महगीको बारे पहिला एमालेले बोल्थ्यो,शुल्क वृद्धि हुँदा अखिल बोल्थ्यो,दलितमाथि उत्पीडन हुँदा एमाले सबभन्दा पहिला बोल्थ्यो, दुःख पर्दा हामीलाई हेर्ने एमाले छ भन्ने जनतामा अनुभूति थियो, तर अहिले विस्तारै हामी ती कुराबाट वञ्चित भएका छौँ”
नेता ज्ञवालीले थप्नुभयो,“यत्रो महंगी बढेको छ,तर नवलपरासीमा अहिलेसम्म विरोध जुलुस निकालेकै छैनौँ,कि त तपाईहरुलाई महंगीले छोएकै छैन्,यति महंगी बढ्दा पनि जिन्दगी राम्रै चलेको छ भने बधाई छ, हैन भने महंगी विरुद्ध सडकमा उत्रिन आदेश पर्खिनुपर्ने हो र ?,किसानले मल नपाउँदा किन बोलिएन,उखु किसानले भुक्तानी नपाउँदा पार्टीले उहाँहरुको पक्षमा किन लडेन,मिटरव्याजीले गर्दा यहाँका नागरिक पीडित हुनुहुन्छ, खोई जनताको पीडाले छोएको हामीलाई, तपाईले जनताको समस्या समाधान गर्नुभयो भने पो जनताले एमालेलाई भोट दिने हो, सूर्य राम्रो छ भने र भोट आउने हो र,भोट त हाम्रो कामले आउने हो, यी मुद्दाहरुमा ठीक ढंगले चलिएको छैन्,खोई जनताले दुःख पाउँदा हामी जनताको बीचमा पुगेको ? जनतासँगको सामिप्यता बढाउनुस् कमरेडहरु”
पूर्वमन्त्री समेत रहनुभएका नेता ज्ञवालीले वर्तमान सरकारका कारण मुलुकमा महङ्गी, भ्रष्टाचार,अनियमितता बढेको र विकास ठप्प भएको बताउँदै त्यसका विरुद्ध उत्रिन कार्यकर्तालाई निर्देशन दिनुभयो ।
राष्ट्रियता र लोकतन्त्रको पक्षमा बोल्ने पार्टी एमाले एक्लै भएका कारण अहिले एमाले पाँच दलको घेराबन्दीमा परेको जिकिर गर्दै नेता ज्ञवालीले सत्ता गठबन्धनबाट तर्सिन भने आवश्यक नरहेको दाबी गर्नुभयो ।
उहाँले स्थानीय निर्वाचनको परिणामबाट निराश नभई पाठ सिकेर उच्च मनोबलको साथ अघि बढ्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।“विपक्षी गठबन्धनको बाबजुद पनि स्थानीय निर्वाचनमा एमाले पपुलर मतसहित पहिलो दल भएको छ, आत्तिहाल्नुपर्ने अवस्था छैन, सत्ता गठबन्धन चुनौती नै नभएपनि सजग भने रहनुपर्छ”, उहाँले भन्नुभयो ।

एमाले जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज सरिता खनाल, केन्द्रीय सदस्य एवं जिल्ला सहईन्चार्ज विमला अर्याल, केन्द्रीय सल्लाहकार खेमलाल पोखरेल, प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ लगायतले प्रशिक्षण दिँदै आगामी निर्वाचनमा एकढिक्का भएर लाग्न आग्रह गर्नुभएको एमाले जिल्ला सचिव धीरज शर्मा बस्यालले जानकार िदिनुभयो । जिल्ला स्तरीय प्रशिक्षण पछि अव एमालेले पालिका स्तरमा प्रशिक्षण सञ्चालन गर्ने जिल्ला उपाध्यक्ष डोलराज भण्डारीले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस