परासी, २७ पुस । उपभोक्ता हित संरक्षणको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका उप–प्रमुख रुद्रप्रकाश उपाध्यायलाई उपभोक्ता अधिकार संरक्षक अवार्डबाट सम्मान गरिएको छ ।
उपभोक्ता हित संरक्षण मञ्च नेपाल लुम्बिनी प्रदेश समितिले आज बुटवलमा आयोजना गरेको प्रदेश स्तरीय कार्यशालामा उपाध्यायसहितका अभियान्ताहरुलाई सम्मान गरेको हो । उपप्रमुख उपाध्यायलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय अध्यक्ष ज्योति बानिया,प्रदेश अध्यक्ष तेजकुमार पाठकले संयुक्त रुपमा सम्मान गर्नुभएको हो ।
उपभोक्ता हक अधिकार रक्षा गर्ने सन्दर्भमा नवलपरास िजिल्लासहित लुम्बिनी प्रदेशमै उत्कृष्ट कार्य गरेवापत बर्दघाट नगरपालिकाका उपप्रमुख उपाध्यायलाई सम्मान गरिएको मञ्चका केन्द्रिय सदस्य रामजी ज्ञवालीले जानकारी दिनुभयो । उपाध्ययको नेतृत्वमा बर्दघाट नगरपालिका र उपभोक्ता हित संरक्षण मञ्च बर्दघाट नगर समितिले मर्यादीत र स्वच्छ बजारका लागि नियमित अनुगमनका साथै उपभोक्ता शिक्षा र सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
सम्मान कार्यक्रममा नवलपरासी जिल्लाबाट उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय सदस्य रामजी ज्ञवाली,प्रदेश सहसचिव धनञ्जय पौडेल, नवलपरासी जिल्ला अध्यक्ष अधिवक्ता सरस्वती शर्मा, सचिव मोहन पौडेल, बर्दघाट नगर अध्यक्ष हुमनाथ आचार्य, पाल्हीनन्दन अध्यक्ष मञ्जु चौधरी लगयातको पनि सहभागिता थियो । उपभोक्ता हित संरक्षण मञ्च नेपाल,लुम्बिनी प्रदेशले उपाध्यायसहित सहित फरक– फरक विधामा ५ जनालाई बिभिन्न अवार्डवाट सम्मान गरेको हाके । सम्मानीत हुनेमा उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय अध्यक्ष ज्योति बानिया, बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्याल,मानवअधिकार कर्मी रिमा बि.सी,पत्रकार डि.आ. घिमिरे लगायत रहनुभएको छ ।