२०८३ भाद्र २२, सोमबार
24 खबर अपडेट

नवलपरासीदेखि कञ्चनपुरसम्म छुट्टै प्रदेशका लागि संघर्ष गर्न अध्यक्ष उपेन्द्र यादवको आह्वान

२०८३ भाद्र २१, आईतबार प्रकाशित ( घण्टा अघि) २३१ पाठक संख्या

परासी,२१ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नवलपरासीदेखि कञ्चनपुरसम्मका तराईका जिल्ला समेटेर छुट्टै प्रदेश निर्माणका लागि संघर्ष गर्न आह्वान गर्नुभएको छ।
पश्चिम नवलपरासीको परासीमा आइतबार आयोजित अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेसी समुदायको हक–अधिकार सुनिश्चित गर्न तथा राज्यसत्तामा समान पहुँच स्थापित गर्न तराईका जिल्लामात्र समेटिएको प्रदेश आवश्यक रहेको बताउनुभयो।
कार्यकर्ताहरूले जसपा मधेस केन्द्रित हुँदै गएको तथा लुम्बिनी प्रदेशलाई पार्टी नेतृत्वले उपेक्षा गरेको गुनासो गरेपछि यादवले विषयान्तर गर्दै छुट्टै प्रदेशको मुद्दालाई राजनीतिक संघर्षका रूपमा अघि बढाउन लुम्बिनी प्रदेशको कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको हो।
उहाँले वर्तमान सरकारले सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाउँदै लोकतन्त्र र संघीयता नै कमजोर बनाउने प्रयास भइरहेको दाबी गर्नुभयो। प्रधानमन्त्रीले सबै निर्णय आफैं लिँदा मन्त्रीदेखि राज्यका विभिन्न निकायसमेत कमजोर बन्दै गएको उहाँको जिकिर थियो।
कार्यक्रममा सहभागी जिल्लाका अगुवा कार्यकर्ताहरूले भने पार्टीभित्रै नेतृत्वप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका थिए।
उनीहरूले नवलपरासी सहित लुम्बिनी प्रदेशका नेताहरूलाई नेतृत्व तहमा पर्याप्त स्थान नदिइएको, लामो समयदेखि पार्टीमा योगदान गरेका कार्यकर्ताको उचित मूल्यांकन नभएको तथा दलित र पछाडि पारिएका समुदायलाई समानुपातिक प्रतिनिधित्व नगराइएको गुनासो गरेका थिए।
जसपाले समग्र पार्टीलाई मधेस प्रदेश केन्द्रित बनाउन खोजेको भन्दै पूर्व रक्षा राज्यमन्त्री रामवचन यादव सहित स्थानीय अधिकांश  कार्यकर्ताहरूले असन्तुष्टि जनाउँदै संगठनलाई देशभर समान रूपमा विस्तार गर्न नेतृत्वसँग माग गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस