

परासी, २० भदौ। संस्कृति सम्पदा संरक्षणमा पुर्याउनुभएको योगदानको उच्च मूल्यांकन गर्दै परासीका समाजसेवी एवं संस्कृति सम्पदा संरक्षण महाअभियान नवलपरासीका संयोजक अनिल शर्मा सम्मानित हुनुभएको छ ।
दाङवोला ग्युईठिम तामाङ संघ काठमाडौंले शनिबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमा शर्मालाई सम्मान गरिएको हो।
नवलपरासीको रामग्राम नगरपालिका वडा नं. ५ निवासी शर्माले आफ्ना स्वर्गीय बाबु दामोदर शर्माको स्मृतिमा विभिन्न संस्कृति तथा सम्पदा संरक्षणका साथै थुप्रै सामाजिक कार्यहरूमा निरन्तर रूपमा क्रियाशील रहँदै आउनुभएको छ।
मौलिक संस्कृति र ऐतिहासिक धरोहरहरूको जगेर्नामा उहाँले पुर्याउनुभएको योगदानको कदर गर्दै उहाँलाई सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ ।
सम्मान ग्रहण गर्दै शर्माले आफ्नो यो सम्मानले संस्कृति संरक्षणको आगामी यात्रामा अझै जिम्मेवार भएर लाग्न प्रेरणा दिएको बताउनुभयो ।
दाङवोला ग्युईठिम तामाङ संघका सञ्चालक कविता तामाङ्ग खोकरको सभापतित्व तथा संस्कृति सम्पदा संरक्षण महाअभियानका संयोजक शर्माको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा संघका पूर्वअध्यक्ष मिकमार तामाङ्ग,बुद्ध तामाङ्ग लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो।