

परासी,१९ भदौ । नेपाल रेडक्रस सोसाइटीको ६४औँ स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पश्चिम नवलपरासीले पृथ्वीचन्द्र अस्पताल परासीमा उपचाररत बिरामीलाई फलफूल वितरण गरेको छ।
स्थापना दिवसका अवसरमा शुक्रबार विहान आयोजित कार्यक्रममा अस्पतालमा उपचाररत ४५ जना बिरामीलाई फलफूल वितरण गरिएको हो। बिरामीको स्वास्थ्यलाभको कामना गर्दै मानवीय सेवाको भावनासहित फलफूल वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पश्चिम नवलपरासीका सभापति राजेन्द्रप्रसाद अग्रहरीले बताउनुभयो ।
कार्यक्रममा रेडक्रसकर्मी तथा पदाधिकारीहरूले अस्पतालमा उपचाररत बिरामीसँग भेटघाट गर्दै उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। बिरामीलाई उपचारसँगै आत्मीयता, हौसला र सहयोगको अनुभूति गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सभापति अग्रहरीले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटीले विपद्, स्वास्थ्य सेवा, रक्तसञ्चार तथा मानवीय सेवाका विभिन्न क्षेत्रमा निरन्तर काम गर्दै आएको स्मरण गर्दै सहभागीहरूले रेडक्रसको मानवीय सेवाको अभियानलाई अझ प्रभावकारी बनाउन सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। स्थापना दिवसका अवसरमा गरिएको फलफूल वितरण कार्यक्रमले अस्पतालमा उपचाररत बिरामीमा केही समयका लागि भए पनि खुसी र आत्मीयताको अनुभूति गराएको थियो।
