

परासी,२० भदौ । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा भोटेकोसी बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यको लाभ तथा बाढीबाट प्रभावित नागरिकको सहज जीवनयापनको कामना गरिएको छ।
रामग्राम योग साधना केन्द्रको आयोजनामा शनिबार साझ परासी बुद्धचोकमा बाढीपीडितको सम्झनामा शान्ति दीप प्रज्ज्वलन गरिएको हो। उक्त अवसरमा बाढीपहिरोका कारण ज्यान गुमाएका नागरिकको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियोे ।
दीप प्रज्ज्वलनमार्फत विपद्को पीडामा रहेका परिवारप्रति ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको सुरक्षित र सहज जीवनयापनका लागि प्रार्थना गरिएको रामग्राम योग साधना केन्द्रकि अध्यक्ष यमकुमारी सुवेदीले बताउनुभयो ।
“शान्तिको प्रतीक दीपको उज्यालोसँगै भोटेकोसी बाढीबाट प्रभावित परिवारको जीवनमा पनि आशा र भरोसाको उज्यालो फैलियोस् भन्ने कामना गरिएको छ।” उहाँले भन्नुभयो ।
वरिष्ठ समाजसेवी प्रकाश चन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पतञ्जली योग समिति नवलपरासीकि महिला प्रभारी जीवनकला गौतम,रामग्राम जेसीजका संस्थापक अध्यक्ष श्याम बस्याल,भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाका अध्यक्ष रामजी ज्ञवाली,योग साधना केन्द्र घोडपालीका अध्यक्ष दीलिप गुप्ता,पत्रकार मोहन पौडेल लगायतले बोल्दै अकल्पनीय रुपमा आएको विनाशकारी विपद्का बेला पीडितको उद्धार, राहत तथा पुनःस्थापनामा राज्य, सामाजिक संघसंस्था र नागरिक समाज सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो ।