

परासी,१८ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि नवलपरासी ख्रीष्टियन मण्डली परिषद्ले एक लाख १० हजार ४९ रुपैयाँ सहयोग गरेको छ।
परिषद्मा आबद्ध जिल्लाका विभिन्न मण्डली (चर्च)हरूबाट स्वेच्छिक रूपमा रकम संकलन गरी उक्त सहयोग रकम प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गरि जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइएको परिषद्का अध्यक्ष पास्टर कृष्णबहादुर तामाङले दैनिक24 खबर डटकमलाई बताउनुभयो ।

परिषद्ले विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम संकलन गरिएको जनाएको छ ।
विपदमा परेका पीडितको उद्धार र राहतमा सहयोग गर्नु सबैको साझा दायित्व भएको भन्दै आफूहरूले पनि सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको परिषद्का सचिव पास्टर आमोश तामाङले बताउनुभयो ।

प्राकृतिक विपद्मा परी ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिषद्ले शोकसन्तप्त परिवारमा समवेदना तथा घाइते र प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित जीवनको कामना गरेको छ।