

परासी,२२ भदौ । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विपद्मा परेका नागरिकको पीडामा मल्हम लगाउने प्रयासस्वरूप पश्चिम नवलपरासीको सुनवल–१ स्थित सोमनाथ बाबा सेकेण्डरी स्कूलले रु. ७१ हजार ८० सहयोग गरेको छ।
विद्यालयले शिक्षक–कर्मचारी, विद्यार्थी, अभिभावक तथा शुभचिन्तकबाट स्वैच्छिक रूपमा संकलन गरेको उक्त रकम प्याब्सन नवलपरासीलाई हस्तान्तरण गरिएको हो।
विद्यालयका प्रधानाध्यापक हिमाल चन्द्र अर्यालले प्याब्सन नवलपरासीका अध्यक्ष डम्बर गुरुङलाई सोमबार संकलित रकम हस्तान्तरण गर्नुभयो।
विपत्तिमा साथ दिन ठूलो धन भन्दा पनि ठूलो मन चाहिन्छ भन्ने भावनाका साथ विद्यालयले आफ्नो तर्फबाट राहत अभियानमा योगदान गरेको प्रधानाध्यापक अर्यालले बताउनुभयो ।
संकलित रकम केन्द्रीय प्याब्सनमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने बताइएको छ।
विद्यालयले बाढी–पहिरोमा ज्यान गुमाएका नागरिकको सम्झनामा श्रद्धाञ्जली सभा समेत आयोजना गरेको थियो। सभामा विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवार तथा समुदायलाई यस कठिन घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरिएको थियो।

विद्यालय परिवारले राहत अभियानमा स्वैच्छिक योगदान पुर्याउने सम्पूर्ण शिक्षक–कर्मचारी, विद्यार्थी, अभिभावक तथा शुभचिन्तकप्रति धन्यवाद व्यक्त गरेको छ।
भोटेकोशीको विपत्तिबाट प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउँदै विद्यालयले प्रभावित नागरिकको शीघ्र सामान्य जीवन पुनर्स्थापनाको कामना गरेको छ। संकटका बेला विद्यालय परिवारले देखाएको यो एकताले सानो–सानो योगदानले ठूलो राहतको आधार तयार गर्न सक्छ भन्ने प्रेरणादायी सन्देश दिएको प्याब्सन नवलपरासीका अध्यक्ष गुरुङले उल्लेख गर्नुभयो ।