

परासी,१७ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाल नेत्रज्योति संघ, डा. विनोद निता कण्डेल आँखा अस्पताल परासीले रु. एक लाख १ हजार सहयोग गरेको छ।
नेपाल नेत्रज्योति संघ नवलपरासी शाखाका सभापति देवेन्द्र राज कण्डेलले गरेको घोषणा कार्यान्वयन गर्दै अस्पतालले आफ्नो कोषबाट उक्त रकम सहयोग गरेको हो।
सभापति कण्डेलले यही भदौ १३ गते सम्पन्न वार्षिक समिक्षा कार्यक्रममा उक्त सहयोग गर्ने घोषणा गर्नुभएको थियोे ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो क्षति व्यहोरेका नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल नेत्रज्योति संघको आह्वानमा उक्त रकम प्रदान गरिएको अस्पतालका व्यवस्थापक अजय पाण्डेले जानकारी दिनुभयो।
अस्पतालले उपलब्ध गराएको रकम नेपाल नेत्रज्योति संघ केन्द्रीय कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा पठाइसकिएको छ। केन्द्रीय कार्यालयमार्फत उक्त रकम एकद्वार प्रणालीबाट प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने बताइएको छ।
विपद्को कठिन समयमा प्रभावित नागरिकको पीडामा साथ दिन तथा राहत र पुनःस्थापनाको अभियानमा योगदान पुर्याउन अस्पतालले सहयोग गरेको
नेपाल नेत्रज्योति संघ नवलपरासी शाखाका सभापति देवेन्द्र राज कण्डेलले बताउनुभयो ।
“विपद्का बेला पीडित नागरिकको साथमा उभिनु सबैको सामाजिक दायित्व हो” उहाँले भन्नुभयो,” प्रभावितको राहत तथा पुनःस्थापनाका लागि राज्यसँगै विभिन्न संघसंस्था, निजी क्षेत्र र नागरिक समाजको सहयोग र सहकार्य आवश्यक छ।”