

परासी,२२ भदौ । भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले पश्चिम नवलपरासीको सुनवल–१२ हरकट्टास्थित विद्या सागर प्रसिद्ध इङ्लिस बोर्डिङ स्कुलले रु. एक लाख ११ हजार १ सय ११ सहयोग गरेको छ ।
विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी तथा विद्यालयको तर्फबाट संकलित उक्त रकमको चेक सोमबार विद्यालयका अध्यक्ष चन्द्रबहादुर भुसालले विद्यालयका प्रबन्ध निर्देशक चोलाकान्त रेग्मी तथा शिक्षक–विद्यार्थीहरूको उपस्थितिमा प्याब्सन नवलपरासीका अध्यक्ष डम्बर गुरुङलाई हस्तान्तरण गर्नुभएको हो ।
उक्त रकम केन्द्रीय प्याब्सनमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा हुने जनाइएको छ ।

विनाशकारी बाढीले घरबार, रोजगारी र दैनिक जीवन प्रभावित बनाएका परिवारका लागि सहयोग जुटाउने अभियानमा विद्यालय परिवारले गरेको यो योगदानले प्रभावितहरुको घाउमा थोरै भएपनि मल्हम लगाउन योगदान पुग्ने अपेक्षा गरिएको विद्यालयका प्रबन्ध निर्देशक रेग्मीले बताउनुभयो ।
“विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीले आफ्नो क्षमता र स्रोतअनुसार गरेको योगदानले विपद्को समयमा ‘हामी एक्लै होइनौं, समाज साथमा छ’ भन्ने अनुभूति पीडित परिवारलाई गराउने विश्वास गरिएको छ।”- उहाँले भन्नुभयो ।
विद्यालयका अध्यक्ष भुसालले सहयोगलाई आर्थिक योगदानका रूपमा नभई विपद्मा परेका नागरिकप्रतिको मानवीय दायित्व र सामाजिक एकताको सन्देशको रूपमा लिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो – “विपद्को पीडा रकमले मात्र मेटिँदैन, तर सही समयमा गरिएको सानो सहयोगले पीडितको मनमा ठूलो आशा जगाउन सक्छ।”
प्याब्सनमार्फत राहत कोषमा रकम हस्तान्तरण गरिने अभियानले निजी विद्यालयहरू शिक्षा प्रदान गर्ने संस्थामात्र नभई विपद्, सामाजिक संकट र मानवीय सेवामा समुदायसँगै उभिनुपर्ने सामाजिक संस्थाका रूपमा आफ्नो भूमिका निर्वाह गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्न सफल भएको प्याब्सन नवलपरासीका अध्यक्ष गुरुङले उल्लेख गर्नुभयो ।