

परासी,२१ भदौ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५ घण्टाघर चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार एक जना गम्भीर घाइते भएका छन्।
गएराति करिब ९ः३४ बजे बाइपासबाट बुद्धचोकतर्फ आउँदै गरेको लु ३३ प ५४७५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक रामग्राम नगरपालिका–४ निवासी करिब ३५ वर्षीय अशोक हरिजन र मोटरसाइकलमा पछाडि सवार पाल्हिनन्दन गाउँपालिका–३ बेलासपुर निवासी करिब ३५ वर्षीय रमेश हरिजन घाइते भएका थिए।
घाइते दुवैलाई प्रारम्भिक उपचारका लागि जिल्ला अस्पताल परासी लगिएकोमा थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल, रुपन्देही रिफर गरिएको थियो।
दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक अशोकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी मदन थापाले जानकारी दिनुभयो ।
उनको शव अस्पतालमै राखिएको र पोस्टमार्टम हुन बाँकी रहेको जनाइएको छ।
दुर्घटनामा घाइते रमेश हरिजनको भने लुम्बिनी सिटी अस्पतालको आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।