

परासी,२० भदौ । आम्दानीको ठूलो स्रोत नहुँदा पनि सामाजिक सेवाका लागि मन ठूलो हुनुपर्छ भन्ने उदाहरण प्रस्तुत गर्दै नमुना महिला समाज परासीले भोटेकोसी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि १५ हजार रुपैयाँ सहयोग गरेको छ।
संस्थामा आबद्ध विशेषगरी गृहिणी महिलाहरूबाट रकम संकलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको संस्थाले जनाएको छ ।

घरपरिवारको जिम्मेवारीसँगै सामाजिक उत्तरदायित्वलाई पनि आत्मसात् गर्दै महिलाहरूले आफ्नो क्षमता र सामर्थ्यअनुसार रकम जुटाएर विपद्मा परेका नागरिकका लागि सहयोग गरेको नमुना महिला समाजकी अध्यक्ष सरिता पौडेलले दैनिक24 खबर डटकमलाई बताउनुभयो ।
“सहयोग रकम ठूलोभन्दा पनि पीडितको दुःखमा आफूले सकेको योगदान गर्नुपर्छ भन्ने भावनाले संकलित प्रत्येक रुपैयाँको महत्व ठूलो रहेको छ”, उहाँले भन्नुभयो ।
भोटेकोसी बाढीले ठूलो जनधनको क्षति पुर्याएको अवस्थामा राहत र पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेका बेला नमुना महिला समाजका गृहिणी महिलाहरूको यो पहलले सहयोग गर्न धनी नै हुनुपर्छ भन्ने छैन, चाहना र संवेदना हुनुपर्छ भन्ने सन्देश दिएको छ।
समाजका महिलाहरूले आफ्नो व्यक्तिगत आवश्यकता र खर्चबाट समेत केही रकम छुट्याएर विपद्मा परेकाहरूका लागि सहयोग जुटाएको संस्थाकि सचिव कविता पौडेल ज्ञवालीले उल्लेख गर्नुभयो ।
सानो-सानो योगदान नै विपद्मा परेकाका लागि ठूलो सहारा बन्न सक्छ भन्ने सन्देश दिँदै नमुना महिला समाजले मानवीय संवेदनाको उदाहरण प्रस्तुत गरेको छ।