

परासी, १५ भदौ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नवलपरासीले बाढीपीडितका लागि राहत संकलनसँगै जिल्लामा संगठन सुदृढीकरण अभियानलाई तीव्रता दिने भएको छ।
सोमबार बर्दघाटमा सम्पन्न जिल्ला सचिवालयको विस्तारित बैठकले पार्टीभित्र आन्तरिक रूपमा राहत संकलन गरी केन्द्रीय उद्धार तथा राहत टोलीमार्फत बाढी प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेको हो।
पार्टीले उद्धार तथा राहत कार्यका लागि स्थायी समिति सदस्य रामसिंह श्रीसको नेतृत्वमा केन्द्रीय टोली गठन गरेको छ। नवलपरासीबाट संकलित राहत सोही टोलीमार्फत रसुवा, नुवाकोटलगायत विपद् प्रभावित क्षेत्रमा पठाइने पार्टीले जनाएको छ।
बैठकले रसुवा, नुवाकोटलगायतका क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितको उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ।
राहत अभियानसँगै पार्टीले जिल्लामा संगठन सुदृढीकरणको योजनालाई पनि अघि बढाउने भएको छ। पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयका अनुसार आगामी एक महिनाभित्र सदस्यता अद्यावधिक गर्ने तथा आर्थिक कामलाई थप व्यवस्थित गर्ने योजना छ।
त्यस्तै, असोज महिनाभित्र पालिका कमिटीका भेला तथा सम्मेलन सम्पन्न गर्ने र कात्तिक महिनाभित्र जिल्ला सम्मेलन गर्ने तयारी पार्टीले गरेको छ।
जिल्लाको वर्तमान राजनीतिक परिस्थिति तथा राष्ट्रिय स्वाधीनताको विषयमा सर्वपक्षीय राउण्ड टेबल कार्यक्रम आयोजना गर्ने योजना रहेको पाण्डेयले जानकारी दिए।
बैठकमा पार्टीका स्थायी समिति सदस्य कृष्ण पौडेल, पोलिटब्युरो सदस्य तथा ब्यूरो सचिव जितामित्र सुनार, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्रबहादुर थापालगायतले पार्टीको नीति, योजना तथा आगामी कार्यक्रमबारे प्रशिक्षण दिएका थिए।
बैठकले राहत तथा उद्धारका कामलाई निरन्तरता दिँदै संगठन सुदृढीकरण र राजनीतिक गतिविधिलाई योजनाबद्ध रूपमा अघि बढाउने निर्णय गरेको पार्टीले जनाएको छ।