२०८३ भाद्र २२, सोमबार
24 खबर अपडेट

कुस्माकर ढकाल (कृष्ण) : सञ्चारकर्मदेखि सामाजिक अभियान्तासम्म

२०८३ भाद्र २१, आईतबार प्रकाशित ( दिन अघि) २३१ पाठक संख्या

परासी,२१ भदौ । पश्चिम नवलपरासी जिल्लाकाे, बर्दघाट नगरपालिका वडा नं.–५ पाल्डाँडा निवासी कुस्माकर ढकाल, जसलाई सञ्चार क्षेत्रमा कृष्ण ढकालका रूपमा पनि चिनिन्छ, पत्रकारिता, सञ्चार, सामाजिक अभियान र नागरिक निगरानीका क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तित्व हुन्।

आफ्नो व्यावसायिक यात्रालाई पत्रकारिताबाट सुरु गरेका ढकालले समयक्रमसँगै रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यम, प्रेस संस्था तथा सामाजिक अभियानमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

ढकालको औपचारिक शैक्षिक योग्यता स्नातक तह रहेको छ। उनको पिता स्वर्गीय रबिलाल ढकाल र माता स्वर्गीय तुलसी ढकाल हुन्। उनको पारिवारिक जीवनमा श्रीमती हिरा आचार्य (ढकाल) तथा छोराहरू मनिष ढकाल र मौसम ढकाल रहेका छन्। ढकाल हाल बर्दघाट नगरपालिका वडा नं.–४,लक्ष्मीनगरमा बस्दै आएका छन ।

पत्रकारिताबाट सुरु भएको यात्रा

ढकालको सञ्चार यात्रा २०५८ सालदेखि मेचिकाली राष्ट्रिय दैनिकमा हकरप्रमुख तथा डेस्कमा रहेर समाचार लेखन कार्यबाट सुरु भएको हाे।

त्यसपछि २०६१ देखि २०६४ सालसम्म ‘इमाेड नेपाल’मा व्यवस्थापकका रूपमा काम गर्दै मासिक पत्रिका सञ्चार अभियान प्रकाशनमा मुख्यभूमिका निर्वाह गर्ने र गैरसरकारी संस्थाकाे कार्यालय सचिव भएर काम गरेका थिए ।

२०६१ मंसिरदेखि २०६५ सालसम्म तिनाउ एफएममा खोजमूलक कार्यक्रम सञ्चालन गर्नुका साथै २०६२ सालमा रुपन्देहीका विभिन्न स्थानमा भित्तेपत्रिका निर्माणसम्बन्धी तालिम प्रदान गर्ने कार्यमा समेत संलग्न भए। यस क्रममा विभिन्न स्थानीय पत्रपत्रिकासँग जोडिएर सञ्चार सीप र पत्रकारिता विकासमा योगदान पुर्‍याए।
त्यसपछि ढकालको पत्रकारिता यात्रा अझ फराकिलो बन्दै गयो। नयाँसत्ता राष्ट्रिय दैनिकको डेक्स रिपोर्टर, रेडियो त्रिवेणी, स्थानीय केबल टेलिभिजन हुँदै टेलिभिजन पत्रकारिता र कार्यक्रम उत्पादनसम्म उहाँको अनुभव विस्तार भयो।

टेलिभिजन र स्थानीय सञ्चारमा सक्रियता

२०६५ सालदेखि करिब एक वर्ष बुटवलको नयाँसत्ता राष्ट्रिय दैनिकमा डेक्स रिपोर्टरका रूपमा काम गरेपछि उनलेे चितवनमा रेडियो त्रिवेणी सञ्चालनका लागि समेत काम गरे ।  त्यही समय स्थानीय केबल टेलिभिजनमार्फत एचआईभी/एड्स न्यूनीकरणका लागि चेतनामूलक कार्यक्रम उत्पादन तथा प्रसारणमा सहभागी भए ।

बुद्ध सामुदायिक टेलिभिजन सञ्चालनका क्रममा उनले संस्थापक सचिव तथा समाचार शाखाको जिम्मेवारीमा रहेर काम गरे । तराई टेलिभिजन काठमाडौंका लागि रुपन्देहीबाट रिपोर्टिङ गर्ने काम पनि गरे ।

२०७० वैशाख १ गतेदेखि नवलपरासीमा त्रिवेणी टेलिभिजन स्थापना तथा सञ्चालनको जिम्मेवारीसहित स्टेशन म्यानेजर तथा सम्पादकका रूपमा २०७६ साल सम्म काम गरेका थिए । हाल गाउँले दर्पण अनलाइनको सञ्चालक तथा सम्पादकका रूपमा निरन्तर सक्रिय रहेका छन् । ढकालले २०७७ असोज ५ गतेदेखि नेपाल टेलिभिजनमा पश्चिम नवलपरासी संवाददाताका रूपमा समेत काम गर्दै आएका छन् ।

प्रेस तथा सामाजिक क्षेत्रमा नेतृत्व

पत्रकारितासँगै ढकालले स्थानीय सञ्चार क्षेत्रलाई संस्थागत बनाउन पनि भूमिका निर्वाह गरिरहेका छन् । २०७९ कात्तिक २५ गतेदेखि बर्दघाट प्रज्ञा प्रतिष्ठानको संस्थापक परिषद् सदस्य तथा २०७९ पुस १६ गतेदेखि बर्दघाट प्रेस क्लबको संस्थापक अध्यक्षका रूपमा निरन्तर जिम्मेवारी सम्हालििरहेेका छन् ढकालले ।

त्यही अविधमा उनी भ्रष्टाचारविरुद्धको नागरिक निगरानी संस्था नवलपरासीकोको  सदस्य तथा उपभोक्ता हित संरक्षण मञ्च, बर्दघाट नगर समितिको संस्थापक सचिवका रूपमा रहेर सामाजिक भूमिकामा जोडिन सफल भए ।

पछिल्लो समय उपभोक्ता हित संरक्षण मञ्चको जिल्ला सदस्यको जिम्मेवारीमा समेत रहेका ढकालको परिचय केवल पत्रकारीतामा मात्र सीमित छैन, सञ्चारमाध्यमबाट नागरिकका सवाल उठाउनेदेखि उपभोक्ता अधिकार, सामाजिक उत्तरदायित्व र सार्वजनिक निकायको जवाफदेहितासम्म उनको सक्रियता अद्भुत भएको देखिन्छ।

तालिम र क्षमता विकासमा जोड

ढकालले पत्रकारिता तथा सञ्चार क्षेत्रसँग सम्बन्धित विभिन्न तालिमसमेत लिएका छन्। सामाजिक परीक्षण (Social Audit), प्रशिक्षण तथा सहजीकरण सीप, बालअधिकारमा आधारित पत्रकारिता, सिर्जनात्मक लेखन, परियोजना प्रस्ताव तथा प्रतिवेदन लेखन, राज्य पुनर्संरचना तथा अल्पसंख्यक अधिकार, टेलिभिजन तथा रेडियो कार्यक्रम उत्पादन, टेलिभिजन पत्रकारिता, फोटोग्राफी तथा सूचना अधिकार लगाएतका थुप्रै तालिमहरू उनले लिएका छन् ।
तालिम लिने मात्र होइन, बाल पत्रकारिता तथा भित्तेपत्रिका निर्माण, भाषणकला तथा उद्घोषण, क्षमता अभिवृद्धि, समाचार लेखन तथा वाचन, भिडियो रिपोर्ट तथा वृत्तचित्र निर्माण र माइन्यूटलेखन तथा प्रस्तावना लेखन जस्ता विषयमा तालिम दिने काममा पनि उनी निक्कै प्रखर ब्यक्त्तीका रूपमा परिचित छन् ।

सामाजिक परीक्षणमा पनि सक्रिय

ढकालको अर्को महत्वपूर्ण पक्ष सामाजिक परीक्षण (Social Audit)सँग सम्बन्धित काम हो। उनलुे यूए.मए.न लुम्बिनी क्लस्टर, ग्रिनतारा नेपाल, इन्द्रेणी सामाजिक विकास मञ्च लगायत विभिन्न संस्था तथा स्वास्थ्य संस्थाहरूको सामाजिक परीक्षण गरेका छन् ।

यसबाट सार्वजनिक तथा सामाजिक संस्थाका कामलाई नागरिकको दृष्टिकोणबाट हेर्ने, पारदर्शिता र जवाफदेहिताको विषय उठाउने क्षेत्रमा समेत उनको अनुभव मजबुत रहेको देखिन्छ।

निष्कर्ष

कुस्माकर ढकाल (कृष्ण)को जीवनयात्रा एउटा गाउँबाट सुरु भएर पत्रकारिता, सञ्चार व्यवस्थापन, टेलिभिजन, रेडियो, प्रेस संगठन, सामाजिक अभियान र नागरिक निगरानीसम्म फैलिएको यात्रा हो। करिब दुई दशकभन्दा लामो सञ्चार अनुभवमा उनले समाचार लेखनदेखि सम्पादन, रिपोर्टिङ, कार्यक्रम उत्पादन, सञ्चार संस्था सञ्चालन र पत्रकारिता प्रशिक्षणसम्मका विभिन्न जिम्मेवारी निर्वाह गरिरहेका छन् ।
गुल्मी जिल्लाकाे साविक खड्गकाेट गाविस हालकाे कालिगण्डकी–६ तल्लाेकाेरेङ्गमा जन्मेर २०४६ सालदेखि नवलपरासीकाे बर्दघाट–५ पाल्डाँडामा स्थायी बसाेवास गर्दै आएका ढकाल नवलपरासीका स्थापित पत्रकार हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस