२०८३ कार्तिक २४, सोमबार
24 खबर अपडेट

रामग्राम कप क्रिकेट प्रतियोगिता : भूमही क्रिकेट क्लबको शानदार जित

२०८३ कार्तिक २४, सोमबार प्रकाशित (१ घण्टा अघि) ४२ पाठक संख्या

 

परासी,२३ कात्तिक । रामग्राम कप क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न दोस्रो खेलमा भूमही क्रिकेट क्लबले रामग्राम किंग्स क्रिकेट एकेडेमीलाई पराजित गर्दै शानदार जित निकालेको छ।
रामग्राम किंग्सले प्रस्तुत गरेको ५६ रनको सामान्य लक्ष्य भूमहीले मात्र ७ ओभरमा पूरा गर्दै सहज जित दर्ता गरेको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको रामग्राम किंग्स क्रिकेट एकेडेमीले निर्धारित १५ ओभरको खेलमा ५६ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
रामग्राम किंग्सका लागि राहुल हरिजनले १३ बलमा १७ रन, राजन गौडले २३ बलमा ११ रन तथा चन्द्रिका साहनीले ५ बलमा ९ रनको योगदान दिएका थिए।

रामग्राम किंग्सलाई सस्तैमा समेट्ने क्रममा भूमही क्रिकेट क्लबका बलर अनिश क्षेत्रीले उत्कृष्ट प्रदर्शन गरे। उनले मात्र १ ओभरमा २ रन खर्चेर २ विकेट लिए। यस्तै प्रकाश बरालले २ विकेट तथा मनिष, यमन भण्डारी र सन्तोषले समान १–१ विकेट हात पारे।

५६ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको भूमही क्रिकेट क्लबले आक्रामक ब्याटिङ गर्दै ७ ओभरमै लक्ष्य पूरा गर्‍यो। भूमहीका पवनले १७ बलमा २४ रन र हृतिकले १८ बलमा २२ रन बनाउँदै टोलीको जित सहज बनाए।

रामग्राम किंग्सका तर्फबाट बलिङमा सन्दीपले ३ ओभरमा २६ रन खर्चेर १ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गरेका भूमहीका अनिश क्षेत्री ‘म्यान अफ द म्याच’ घोषित भए। उनले १ ओभरमा मात्र २ रन खर्चेर २ विकेट लिँदै टोलीको जितमा महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए।

रामग्राम–४ जीतपुरस्थित रंगशालामा जारी प्रतियोगिता रामग्राम किंग्स क्रिकेट क्लबको आयोजनामा सञ्चालन भइरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


↑