२०८३ कार्तिक २२, शनिबार
24 खबर अपडेट

रामग्रामको जीतपुरमा निर्मित प्याराफिटसहितको रंगशाला उद्घाटन

२०८३ कार्तिक २२, शनिबार प्रकाशित (४३ मिनेट अघि) २९ पाठक संख्या

परासी,२१ कात्तिक। पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ जीतपुरमा प्याराफिटसहितको रंगशाला निर्माण गरिएको छ।
करिब ५ करोड १० लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त रंगशालाको शनिबार नगर प्रमुख धनपत यादवले उद्घाटन गर्नुभयो ।
स्थानीयस्तरमा खेलकुदको पूर्वाधार विकास, प्रतिभावान खेलाडीको पहिचान तथा खेल गतिविधिलाई व्यवस्थित र व्यावसायिक बनाउने उद्देश्यले निर्माण गरिएको रंगशालामा ६३० दर्शक क्षमताको प्याराफिट रहेको छ। रंगशालामा सटर तथा खेलाडीका लागि चेन्जिङ रुमसहित २४ वटा कोठा निर्माण गरिएको नगर प्रमुख यादवले जानकारी दिनुभयो ।

20261107_133521

यादवले खेलकुद पूर्वाधारको विकासले स्थानीय खेल प्रतिभालाई राष्ट्रियस्तरसम्म पुग्ने अवसर प्रदान गर्ने बताउनुभयो । उहाँले खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र नभई युवालाई अनुशासित, स्वस्थ र सिर्जनशील बनाउने महत्वपूर्ण आधार भएकाले नगरपालिकाले खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको धारणा व्यक्त गर्नुभयो ।
नगर उपप्रमुख सम्झना चौधरीले रंगशालाको निर्माणसँगै रामग्राम नगरपालिकामा खेलकुद गतिविधि सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गर्दै यसको संरक्षण, उपयोग र निरन्तरतामा सबैको साझा जिम्मेवारी रहनेमा जोड दिनुभयो ।
प्याराफिटसहितको रंगशाला निर्माणले खेल हेर्न आउने दर्शकलाई सहज हुने तथा खेलाडीलाई व्यवस्थित वातावरणमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर मिल्ने अपेक्षा गरिएको वडा नम्बर ४ का अध्यक्ष मदन यादवले बताउनुभयो ।
“यस रंगशालाले रामग्रामको खेलकुद विकासमा नयाँ आयाम थप्नुका साथै स्थानीय युवालाई खेलकुदप्रति आकर्षित गर्न र जिल्लाको खेल पहिचान स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।” – उहाँले भन्नुभयो ।
सोही मैदानमा शनिबारदेखि नै रामग्राम कप क्रिकेट प्रतियोगितासमेत सुरु गरिएको छ। नगरपालिकाको सहयोग तथा रामग्राम किङ्स क्रिकेट क्लबको व्यवस्थापनमा सुरु भएको प्रतियोगिता कात्तिक २७ गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष दिलिप कुर्मीले जानकारी दिनुभयो ।

उक्त अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति रबी पाण्डे,नेपाली कांग्रेसका कार्यबाहक जिल्ला सभापति विक्रम यादव,राप्रपाका जिल्ला अध्यक्ष रामभवन यादव,जनमत पार्टीका केन्द्रीय सचिव बिजी चौधरी,जनता प्रगतिशील पार्टीका अध्यक्ष राधेरमण पाण्डे,जिल्ला क्रिकेट संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ,नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विकास अधिकारी,परासी प्रेस क्लबका अध्यक्ष मोहन पौडेल लगायतले पनि शुभकामना व्यक्त गर्नुभएको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


↑