

परासी, ३० असोज । कृषि क्षेत्रको विकास, किसानका समस्या समाधान र उत्पादनमुखी कृषि प्रणालीको प्रवद्र्धनमा जोड दिनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
पश्चिम नवलपरासीको सुनवलमा नगरस्तरीय कृषक समूहको आयोजनामा विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागीहरुले उक्त कुरामा जोड दिएका हुन ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री खड्ग बस्नेतले कृषि क्षेत्रको विकास र किसानको जीवनस्तर सुधारका लागि किसानका वास्तविक समस्या पहिचान गरी समाधानका प्रभावकारी उपाय अवलम्बन गर्नुपर्ने बताउनुभयो।
नगरस्तरीय कृषक समूहका मसदस्य शोभा परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस सुनवल नगर सभापति यामलाल पाण्डे, नेकपा एमालेका नगर अध्यक्ष मुक्तिराम भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीकी नगर सभापति दिलकुमारी बुढा मगरलगायतले शुभकामना व्यक्त गर्दै कृषि क्षेत्रको विकास, किसानका समस्या समाधान तथा उत्पादनमा आधारित कृषि प्रणालीको प्रवद्र्धनमा जोड दिनुभयो।
राष्ट्रिय उत्पादन तथा बजार संरक्षण महासङ्घका केन्द्रीय उपाध्यक्षद्वय मोतिलाल भट्टराई र रामबहादुर राईले किसानका समस्या समाधानका लागि स्थानीय तहले प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँहरूले किसान परिचयपत्र वितरणलाई अभियानका रूपमा अघि बढाउन, किसानका आवश्यकता पहिचान गर्न विशेष कार्यक्रम सञ्चालन गर्न तथा अनुदान वितरणमा मात्र सीमित नभई उत्पादन लागत घटाउनेतर्फ ध्यान दिन स्थानीय तहलाई आग्रह गर्नुभयो।
कृषि क्षेत्रको आधुनिकीकरणका लागि कृषि यान्त्रीकरण, सिँचाइ सुविधाको विस्तार, प्राविधिक सेवाको पहुँच र कृषि उपजको उचित बजारीकरण सुनिश्चित गर्नुपर्नेमा पनि उहाँहरूले जोड दिनुभएको नगर स्तरीय कृषक सञ्जालका अध्यक्ष बद्रीमान श्रेष्ठले बताउनुभयो ।
किसानका समस्या, आवश्यकता र कृषि क्षेत्रका सम्भावनालाई उजागर गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै अध्यक्ष श्रेष्ठले किसानका हकहित संरक्षण तथा कृषि क्षेत्रको समग्र विकासका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा जनउदय सामुदायिक वनका अध्यक्ष वीरबहादुर विक, प्रशिक्षक नरबहादुर खड्कालगायतले पनि विजयादशमी, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्नुभएको थियो।