

परासी, २० कात्तिक । नवलपरासी ख्रीष्टियन मण्डली परिषद्को प्रथम साधारणसभा पश्चिम नवलपरासीको बर्दघाट–४ मा सम्पन्न भएको छ। सभामा सहभागीहरुले ख्रीष्टियन समुदायबीच धार्मिक एकता, आपसी सद्भाव, सहकार्य र सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
परिषद्का अध्यक्ष कृष्णबहादुर तामाङको अध्यक्षतामा सम्पन्न सभामा प्रमुख अतिथि एवं प्रमुख वक्ता मिस्पा चर्च रुपन्देहीका पास्टर कृष्ण रोक्काले धार्मिक आस्था र विश्वासलाई सामाजिक सद्भाव तथा सेवासँग जोड्नुपर्ने बताउनुभयो।
उहाँले ख्रीष्टियन समुदायभित्र आपसी एकता र सहकार्य बलियो भए मात्रै समुदायका साझा उद्देश्य प्राप्त गर्न सकिने उल्लेख गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियानमा सबै एकजुट भएर लाग्नुपर्ने धारणा राख्नुभयो।
परिषद्का अध्यक्ष कृष्णबहादुर तामाङले संस्थाको पहिलो साधारणसभा संगठनलाई व्यवस्थित, एकताबद्ध र उद्देश्यप्रति प्रतिबद्ध बनाउने महत्वपूर्ण अवसर भएको बताउनुभयो। उहाँले भन्नुभयो, “हाम्रो मुख्य उद्देश्य नवलपरासीका ख्रीष्टियन मण्डलीहरूलाई एउटै साझा मञ्चमा जोड्दै आपसी एकता, सद्भाव र सहकार्यको वातावरण निर्माण गर्नु हो, संस्थालाई बलियो बनाउँदै धार्मिक तथा सामाजिक क्षेत्रमा सकारात्मक योगदान पु¥याउने गरी अघि बढ्नेछौँ।”
कार्यक्रममा नेपाली ख्रीष्टियन नागरिक संघका जिल्ला अध्यक्ष पास्टर जीतबहादुर पुन, परिषद्का उपाध्यक्ष युवराज क्षत्री तथा सहसचिव कमल रामदासले मन्तव्य राख्दै धार्मिक एकता, संस्थागत विकास र समुदायको साझा हितका लागि सहकार्य आवश्यक रहेको औँल्याउनुभयो।
साधारणसभामा अध्यक्ष तामाङले परिषद्को वार्षिक प्रगति प्रतिवेदन तथा भावी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी कोषाध्यक्ष पास्टर शंकर चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आयव्यय विवरण सभासमक्ष पेस गर्नुभएको थियो। परिषद्का सचिव आमोस तामाङका अनुसार प्रथम साधारणसभाले संस्थाको आगामी कार्यदिशा तय गर्न तथा मण्डलीहरूबीच समन्वय र सहकार्य थप प्रभावकारी बनाउन महत्वपूर्ण आधार तयार गरेको छ।