२०८३ कार्तिक २४, सोमबार
24 खबर अपडेट

रामग्राम कप क्रिकेट प्रतियोगिता : रामग्राम किंग्सको शानदार जित

२०८३ कार्तिक २४, सोमबार प्रकाशित (२ घण्टा अघि) १०३ पाठक संख्या

परासी, २३ कात्तिक । पश्चिम नवलपरासीको रामग्राम–४ जीतपुरस्थित रामग्राम रंगशालामा जारी रामग्राम कप क्रिकेट प्रतियोगितामा रामग्राम किंग्स क्रिकेट क्लबले शानदार जित दर्ता गरेको छ।
सोमबार सम्पन्न रोमाञ्चक खेलमा रामग्राम किंग्सले राइजिङ स्टार क्रिकेट क्लबलाई पराजित गर्दै प्रतियोगितामा आफ्नो प्रभावशाली प्रदर्शन प्रस्तुत गरेको हो।
खेलमा राइजिङ स्टार क्रिकेट क्लबले प्रस्तुत गरेको ११४ रनको लक्ष्य रामग्राम किंग्सले आक्रामक ब्याटिङ गर्दै मात्र ६.४ ओभरमा पूरा गरेको थियो। रामग्राम किंग्सको जितमा रञ्जित खड्काको विस्फोटक ब्याटिङ निर्णायक बन्यो।
पहिले ब्याटिङ गरेको राइजिङ स्टार क्रिकेट क्लबले निर्धारित इनिङ्समा ११४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। टोलीका हिल्सन क्षेत्रीले १६ बलमा २१ रन, विकासले ३० बलमा १९ रन र निरज भण्डारीले २४ बलमा १६ रनको योगदान दिएका थिए।
राइजिङ स्टारलाई सीमित रनमा रोक्ने क्रममा रामग्राम किंग्सका मन्जित हरिजन र प्रेम सागरले समान २–२ विकेट लिए। त्यस्तै सुमित थापाले १ विकेट हात पारे। कृष्ण शर्मा र जितेन्द्र केवटले पनि कसिलो बलिङ प्रदर्शन गरे।
११४ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको रामग्राम किंग्सले सुरुदेखि नै आक्रामक ब्याटिङ गर्दै विपक्षी बलरमाथि दबाब सिर्जना ग¥यो। टोलीका रञ्जित खड्काले मात्र २६ बलमा १० छक्का र १ चौकासहित विस्फोटक ७६ रन प्रहार गरे। त्यस्तै जितेन्द्र केवटले ११ बलमा ३ छक्काको मद्दतले २१ रन बनाए भने श्री कमलले ६ रनको योगदान दिए।
उत्कृष्ट ब्याटिङ गर्दै टोलीको जित सुनिश्चित गरेका रञ्जित खड्का खेलको ‘म्यान अफ द म्याच’ घोषित भए। प्रतियोगिताले स्थानीय क्रिकेट प्रतिभाको पहिचान, खेलाडीको क्षमता अभिवृद्धि र जिल्लामा क्रिकेट खेलको विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ। कात्तिक २१ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगिताको आयोजक रामग्राम किंग्स क्रिकेट क्लब रहेको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


↑