

परासी, ७ कात्तिक । नेकपा एमाले सुनवल नगर कमिटीले पार्टीको संगठनलाई वडा तहदेखि नै सुदृढ बनाउँदै जनतासँगको सम्बन्ध थप मजबुत बनाउने उद्देश्यले ‘मिसन पार्टी जागरण अभियान’ सञ्चालन गर्ने भएको छ।
अभियानअन्तर्गत सुनवल नगरपालिकाका १३ वटै वडामा छुट्टाछुट्टै भेला आयोजना गरिने नगर कमिटीले जनाएको छ। अभियानको गत असोज २७ गते एमाले केन्द्रिय सदस्य तिलक महतले उद्घाटन गर्नुभएको थियो ।
नगर कमिटीका अध्यक्ष मुक्ति बहादुर भण्डारीका अनुसार आगामी कात्तिक १४ गतेदेखि वडा भेलामार्फत अभियान अघि बढाइनेछ। पार्टीलाई सांगठनिक रूपमा बलियो बनाउने, कार्यकर्ताका आवाज र सुझाव सुन्ने तथा जनताका भावना, समस्या र पीरमर्का बुझेर समाधानका लागि पहल गर्ने अभियानको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो ।
भण्डारीले पार्टीलाई जनताको बीचमा पु¥याउँदै स्थानीय स्तरका समस्या र जनअपेक्षाबारे प्रत्यक्ष जानकारी लिने तथा कार्यकर्ता र जनतासँगको सम्बन्धलाई थप सुदृढ बनाउने योजना रहेको उल्लेख गर्नुभयो । अभियानले आगामी स्थानीय तह निर्वाचनको तयारीलाई समेत केन्द्रमा राख्ने उहाँको भनाइ छ।
अभियान सञ्चालनका लागि केन्द्रीय प्रतिनिधिका रूपमा नेकपा एमालेकी केन्द्रीय सदस्य बिमला अर्याल र जिल्ला सचिवालय सदस्य लेखनाथ खरेललाई जिम्मेवारी दिइएको छ। अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सहजीकरण तथा समन्वयका लागि जिल्ला कमिटीबाट समेत नेताहरू परिचालन गरिने जनाइएको छ।
वडा तहमा हुने भेलामार्फत पार्टीको सांगठनिक अवस्था, कार्यकर्ताका समस्या, जनताका अपेक्षा तथा संगठनलाई थप व्यवस्थित बनाउने उपायबारे छलफल गरिने नगर अध्यक्ष भण्डारीले बताउनुभयो । नगर कमिटीले वडा तहसम्म संगठन विस्तार र सुदृढीकरण गर्दै जनताका समस्या पहिचान गर्ने तथा समाधानका लागि पहल गर्ने लक्ष्यसहित अभियान अघि बढाउन लागेको हो।
१३ वटै वडामा सञ्चालन हुने भेलाले पार्टीको स्थानीय संरचनालाई सक्रिय बनाउनुका साथै नेता–कार्यकर्ता र जनताबीच प्रत्यक्ष संवादको अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।