२०८३ कार्तिक २३, आईतबार
24 खबर अपडेट

रामग्राम कप क्रिकेटमा राइजिङ स्टार र रोयल परासीको विजयी सुरुवात

२०८३ कार्तिक २३, आईतबार प्रकाशित (२ घण्टा अघि) ५७ पाठक संख्या

परासी,२२ कात्तिक । पश्चिम नवलपरासीको रामग्राम–४ जीतपुरस्थित रामग्राम रंगशालामा जारी रामग्राम कप क्रिकेट प्रतियोगिताको दोस्रो दिन आइतबार भएका दुई खेलमा राइजिङ स्टार क्रिकेट क्लब र रोयल परासी स्ट्राइकर्स विजयी भएका छन्।
दोस्रो दिनको पहिलो खेलमा राइजिङ स्टार क्रिकेट क्लबले रामग्राम सुपर स्ट्राइकर्सलाई ६१ रनले पराजित गर्दै शानदार जित निकालेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको राइजिङ स्टारले निर्धारित १५ ओभरमा १६० रन बनाएको थियो। उसका लागि विकास न्यौपानेले ६३, सन्दीप केसीले ४८ र मनीष न्यौपानेले १९ रनको योगदान गरे।
१६१ रनको लक्ष्य पछ्याएको रामग्राम सुपर स्ट्राइकर्सले १३.१ ओभरमा सबै विकेट गुमाउँदै ९९ रन मात्र बनाउन सक्यो। उसका लागि संयोग मुल्मीले ४३ र बैजुले २४ रन बनाए।
राइजिङ स्टारका विकास न्यौपानेले ब्याटिङसँगै बलिङमा समेत उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिए। अलराउन्ड प्रदर्शन गरेका न्यौपाने खेलको ‘म्यान अफ द म्याच’ घोषित भए।
त्यस्तै दोस्रो खेलमा रोयल परासी स्ट्राइकर्सले भूमही क्रिकेट क्लबलाई १९ रनले पराजित गरेको छ।
टस जितेर पहिले बलिङ रोजेको भूमहीविरुद्ध ब्याटिङ गरेको रोयल परासीले निर्धारित १५ ओभरमा ९७ रन बनाउँदै ९८ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
रोयल परासीका विजय गुप्ताले २८, अजय यादवले १२ र आर्यनले ८ रन बनाए।
९८ रनको लक्ष्य पछ्याएको भूमही क्रिकेट क्लबले निर्धारित लक्ष्य भेट्टाउन नसक्दा ७८ रनमै समेटियो। उसका लागि यमन भण्डारीले १४ र दिवाकरले १२ रन बनाए।
रोयल परासीको जितमा करण साहनीले उत्कृष्ट बलिङ गर्दै २.२ ओभरमा मात्र ५ रन खर्चेर चार विकेट लिए। निर्णायक बलिङ प्रदर्शन गरेका साहनी खेलको ‘म्यान अफ द म्याच’ घोषित भए।
रामग्राम रंगशाला उद्घाटन तथा रामग्राम कप सञ्चालन उपभोक्ता समितिको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताले स्थानीय क्रिकेट खेलाडीको प्रतिभा उजागर गर्नुका साथै जिल्लामा क्रिकेट खेलको विकास र प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


↑