

परासी, ३० असोज । नेकपा एमालेमा लामो समय बिताउनुभएका सुनवलका बद्रीमान श्रेष्ठले पार्टी परित्याग गर्दै श्रम संस्कृति पार्टी रोज्नुभएको छ।
सुनवल नगरपालिका–३ निवासी श्रेष्ठलाई लुम्बिनी प्रदेशको राजधानी दाङमा आयोजित कार्यक्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले स्वागत गर्दै पार्टीमा प्रवेश गराउनुभएको श्रम संस्कृति पार्टी नवलपरासीका अध्यक्ष रामचन्द्र चौधरीले जानकारी दिनुभयो ।
२०५५ सालमा नेकपा एमालेको संगठित सदस्यता लिनुभएका श्रेष्ठले पार्टीमा रहेर विभिन्न जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो। उहाँ एमाले नवलपरासीको जिल्ला सदस्यका रूपमा दुई कार्यकाल काम गर्नुभएको थियो भने एमालेकै तर्फबाट राष्ट्रिय भूमि आयोग नवलपरासीको विज्ञ सदस्यसमेत बन्नुभएको थियो।
२०७९ सालको स्थानीय तह निर्वाचनमा श्रेष्ठले नेकपा एमालेबाट सुनवल नगरपालिका–३ को वडा अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको थियो। लामो समय एमालेको संगठनमा सक्रिय रहनुभएका उहाँ पछिल्लो दुई वर्षयता भने पार्टीमा निष्क्रियजस्तै रहँदै आउनुभएको थियो।
एमालेमा लामो राजनीतिक पृष्ठभूमि बनाउनुभएका श्रेष्ठको श्रम संस्कृति पार्टीमा प्रवेशलाई जिल्लाको राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। पुराना राजनीतिक दलप्रतिको असन्तुष्टि र वैकल्पिक राजनीतिक शक्तिप्रतिको आकर्षणबारे बहस भइरहेका बेला श्रेष्ठको पार्टी परिवर्तनले स्थानीय राजनीतिक समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने विषय चासोको बनेको छ।