

परासी, ६ कात्तिक । किसानका समस्या र गुनासा प्रत्यक्ष रूपमा बुझ्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पश्चिम नवलपरासीका अध्यक्ष रामभवन यादव खेतबारीदेखि परासीको साप्ताहिक हाटबजारसम्म पुग्नुभएको छ । उहाँले रामग्राम नगरपालिका–१७ का व्यावसायिक कृषक तथा परासीको हाटबजारमा तरकारी बिक्री गर्न आएका किसानसँग भेटघाट गरी उनीहरूले भोगिरहेका समस्या र चुनौतीबारे जानकारी लिनुभएको हो ।
अध्यक्ष यादवसँग किसानहरुले कृषि उत्पादनमा सरकारी सहुलियतको पहुँच नपुगेको, मल–बीउ सहज रूपमा उपलब्ध नभएको र उत्पादित उपज बिक्री गर्न समस्या भोग्नुपरेको गुनासो गरेका थिए । आफ्नै उत्पादन बिक्री गर्न हाटबजारमा समेत बैठकी शुल्क तिर्नुपर्ने बाध्यता रहेको भन्दै किसानले वास्तविक कृषकलाई कर छुट दिन माग गरेका छन्।
खेतीका लागि आवश्यक मल र बीउ समयमै नपाउँदा भारतीय बजारबाट थोरै–थोरै परिमाणमा ल्याएर काम चलाउनुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ। उत्पादनका लागि लागत र मेहनत बढ्दै गए पनि उत्पादित कृषि उपज बिक्री गर्न सहज बजार नपाउँदा किसान थप समस्यामा परेको गुनासो छ।
त्यस्तै, आफ्नै खेतबारीमा उत्पादन गरेको तरकारी बिक्री गर्न परासीको साप्ताहिक हाटबजारमा आउँदासमेत बैठकी शुल्क तिर्नुपर्ने अवस्थाप्रति किसानले असन्तुष्टि जनाएका छन्। व्यावसायिक रूपमा तरकारी उत्पादन गरेर आफैँ बिक्री गर्न आउने वास्तविक किसानलाई बैठकी कर निःशुल्क गर्नुपर्ने उनीहरूको माग छ।
किसानका गुनासा सुनेपछि राप्रपा जिल्ला अध्यक्ष यादवले कृषि पेसालाई प्रोत्साहन गर्न सरकारले किसानमैत्री नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । किसानलाई आवश्यक सहुलियत उपलब्ध गराउनुका साथै उत्पादित कृषि उपजको बजारीकरणका लागि उचित व्यवस्था मिलाउनुपर्नेमा उहाँको जोड छ । कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यावसायिक बनाउन किसानका वास्तविक समस्या पहिचान गरी समाधान गर्नु आवश्यक रहेको उहाँको भनाइ छ।