

परासी,१९ कात्तिक । आर्थिक अभावका कारण आँखाको उपचारबाट वञ्चित नागरिकलाई लक्षित गर्दै पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ बैरिहवामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ।
रामग्राम–४ वडा कार्यालयको आयोजना तथा भगवती नेत्रालयको प्राविधिक सहयोगमा आयोजित शिविरबाट स्थानीयवासी लाभान्वित भएका छन्। शिविरमा १५० जनाभन्दा बढीलाई निःशुल्क चस्मा वितरण गरिएको छ भने २५० जनालाई आवश्यक औषधि प्रदान गरिएको वडा अध्यक्ष मदन यादवले जानकारी दिनुभयो ।

शिविरमा एक जनालाई लेन्सको सुविधा उपलब्ध गराइएको छ। त्यस्तै, मोतियाविन्दुको समस्या देखिएका पाँच जनाको निःशुल्क शल्यक्रिया गरिने भएको छ। वडा अध्यक्ष यादवले नागरिकको आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले शिविर आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले नागरिकको स्वास्थ्य उपचारलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले नगरपालिकाले डा. विनोद–निता कँडेल आँखा अस्पतालसँग सम्झौता गरी नगरवासीलाई मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सेवा उपलब्ध गराएको जानकारी दिनुभयो । नगरप्रमुख यादवले आँखाको ज्योति गुम्ने जोखिममा रहेका नागरिकले आर्थिक अभावकै कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था आउन नदिन नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा वडा सचिव विष्णुकुमार आले, रामग्राम खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था बैरिहवाकी अध्यक्ष सरिता कुर्मी लगायलते पनि शुभकामना व्यक्त गर्नुभएको थियो ।