

मोहन पौडेल
परासी, १० कात्तिक । विद्यालय तहबाटै खेलाडी उत्पादन गर्न पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ बडेरास्थित धान्याचल महायज्ञ माध्यमिक विद्यालयमा नगरस्तरीय आधारभूत तह छात्रछात्रा कप सेभेन ए साइड फुटसल प्रतियोगिताको दोस्रो संस्करण आयोजना हुने भएको छ ।
सुनवल नगरपालिकाको सहयोग तथा धान्याचल महायज्ञ माध्यमिक विद्यालयको आयोजनामा यही कात्तिक १३ देखि १५ गतेसम्म सोही विद्यालयको प्रांगढमा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
विद्यालयका प्रधानाध्यापक हुमनाथ सुवेदीका अनुसार प्रतियोगितामा सुनवल नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत आधारभूत तहका विद्यार्थीहरूले सहभागिता जनाउनेछन् ।
विद्यालय तहदेखि नै खेलाडी उत्पादन गर्ने, बालबालिकाको शारीरिक तथा मानसिक विकासमा टेवा पु¥याउने र विद्यार्थीमा खेलकुदप्रतिको आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।
प्रतियोगितामा विजेता टोलीले नगद १५ हजार रुपैयाँ र उपविजेता टोलीले नगद १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितालाई व्यवस्थित, मर्यादित र निष्पक्ष रूपमा सञ्चालन गर्ने तयारीस्वरूप विद्यालयले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका खेल शिक्षकहरूसँग अन्तरक्रियासमेत गरेको छ ।
मंगलबार आयोजित अन्तरक्रियामा प्रतियोगिताको पूर्वतयारी, खेल सञ्चालन प्रक्रिया तथा प्रतियोगिताका क्रममा आउन सक्ने सम्भावित समस्या र तिनको समाधानका विषयमा छलफल गरिएको विद्यालयका खेल संयोजक लक्ष्मण पाण्डेले बताउनुभयो ।
प्रतियोगिता सञ्चालनका क्रममा उत्पन्न हुन सक्ने समस्या तथा विवाद समाधानका लागि सुनवल नगरपालिकाका शिक्षा अधिकृत पशुपति भट्टराईको संयोजकत्वमा जुरी समिति गठन गरिएको छ । प्रतियोगितालाई व्यवस्थित र विवादरहित बनाउन खेल सञ्चालन कार्यविधिसमेत तयार पारिएको छ । प्रतियोगिताले विद्यार्थीको खेल कौशल अभिवृद्धि गर्नुका साथै अनुशासन, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।