

मोहन पौडेल
परासी, ३० असोज । स्थानीय उत्पादनको प्रवद्र्धन, व्यापार विस्तार र पर्यटन विकासलाई केन्द्रमा राखेर पश्चिम नवलपरासीको सुनवलमा छैटौँ सुनवल महोत्सव–२०८३ आयोजना हुने भएको छ।
सुनवल उद्योग वाणिज्य संघको आयोजनामा आगामी मंसिर ३ गतेदेखि १५ गतेसम्म सुनवल नगरपालिका–१ स्थित सोमनाथ हाटबजार परिसरमा सञ्चालन हुने महोत्सवमा करिब एक लाख दर्शकले अवलोकन गर्ने र १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ।
सुनवलको पहिचान स्थापित गर्ने, स्थानीय उत्पादनको बजार विस्तार गर्ने, रोजगारी सिर्जना गर्ने तथा उद्यमशीलताको विकासमार्फत स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष रमेश कर्माचार्यले जानकारी दिनुभयो । संघले शुक्रबार पत्रकार सम्मेलन गरी महोत्वबारे जानकारी गराएको हो ।
“महोत्सवले उद्योगी, व्यवसायी तथा उद्यमीलाई आफ्ना उत्पादन र सेवाको प्रचारप्रसार गर्ने अवसर प्रदान गर्नुका साथै नयाँ प्रविधि, लगानी र व्यावसायिक सम्भावनाबारे अनुभव आदानप्रदान गर्ने साझा मञ्चका रूपमा काम गर्ने अपेक्षा गरिएको छ।”, अध्यक्ष कर्माचार्यले भन्नुभयो ।
महोत्सवमा करिब २०० वटा स्टल रहनेछन्। जसमा व्यवसायीका १४५, होटल तथा खानपानका १५, महिला उद्यमीका ३०, शैक्षिक संस्थाका तीन, स्वास्थ्य क्षेत्रको एक र कृषि क्षेत्रका चार स्टल रहनेछन्। महिला उद्यमी, शैक्षिक संस्था तथा कृषि क्षेत्रका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
महोत्सवमा अटोमोबाइल्स, बैंक तथा वित्तीय संस्था, मोबाइल तथा इलेक्ट्रोनिक्स, सूचना प्रविधि, निर्माण सामग्री, कृषि तथा जडीबुटी, पर्यटन, दैनिक उपभोग्य वस्तु, हस्तकला, तयारी पोसाक तथा जुत्ता–चप्पललगायतका वस्तु तथा सेवाको प्रदर्शनी गरिनेछ।
स्थानीय घरेलु, साना, मझौला तथा ठूला उद्योगका उत्पादनसँगै कृषि उपज र पहाडी क्षेत्रका उत्पादनलाई प्राथमिकता दिइनेछ। यसले स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पु¥याउनुका साथै उत्पादक, व्यवसायी र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने अपेक्षा गरिएको अध्यक्ष कर्माचार्यको भनाइ छ ।
स्थानीय उद्यमशीलता र व्यावसायिक सीप विकासलाई प्राथमिकता दिँदै महोत्सवमा महिला उद्यमीका लागि ३० वटा स्टल निःशुल्क उपलब्ध गराइनेछ। त्यस्तै, होटल व्यवस्थापन विषय अध्ययन–अध्यापन हुने विद्यालयका विद्यार्थीलाई व्यावहारिक अभ्यासका लागि निःशुल्क स्टल उपलब्ध गराइने व्यवस्था गरिएको संघका उद्योग उपाध्यक्ष इश्वरी भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार भोटेकोशी तथा बुढीगण्डकी क्षेत्रमा बाढीबाट प्रभावित व्यवसायीलाई व्यवसाय पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले स्टल भाडामा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ। यस्ता व्यवस्थाले साना उद्यमी, महिला व्यवसायी तथा विपद्बाट प्रभावित व्यवसायीलाई आफ्नो उत्पादन र व्यवसाय प्रवद्र्धन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
व्यापारिक प्रदर्शनीसँगै मनोरञ्जन, शिक्षा र संस्कृतिलाई जोड्ने गरी महोत्सवमा विद्यालयस्तरीय डान्स आइडल, गायन प्रतियोगिता, विज्ञान प्रदर्शनी तथा खाना महोत्सव आयोजना गरिने संघका महासचिव तेज प्रसाद भण्डारीले बताउनुभयो ।
उहाँका अनुसार राष्ट्रिय तथा स्थानीय कलाकारका सांगीतिक प्रस्तुति, विद्यालय तथा कला केन्द्रका सांस्कृतिक कार्यक्रम, बाल उद्यान, मनोरञ्जनात्मक खेल, सेल्फी जोन तथा विभिन्न जातजातिका परम्परागत खानाका स्टल महोत्सवका थप आकर्षण रहनेछन्। यस्ता कार्यक्रमले विद्यार्थीको प्रतिभा प्रस्फुटन, स्थानीय कला–संस्कृतिको संरक्षण तथा नयाँ पुस्तालाई सिर्जनात्मक गतिविधिमा सहभागी गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।