

पुरुषोत्तम सुवेदी
नवलपरासी, २४ कात्तिक । चाडपर्वका बेला बजारमा बढ्दै गएको फूलको मागलाई मध्यनजर गर्दै र स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले पश्चिम नवलपरासीको सुनवल नगरपालिका–११, मिश्रौलीमा गरिएको फूल खेतीले राम्रो बजार पाउनुका साथै लोभलाग्दो सफलता हासिल गरेको छ।
नेपाल सरकारका वरिष्ठ डिभिजन इन्जिनियर तथा लुम्बिनी प्रदेश सरकारको सिँचाइ महाशाखा प्रमुखबाट अवकाशप्राप्त उपसचिव ( कर्मचारी ) ध्रुब पौडेल र होटल व्यवसायी नारायण न्यौपानेले संयुक्त लगानीमा यो सहकार्यमा फूल खेती अगाडि बढाउनुभएको हो ।
एकीकृत कृषि प्रणालीको दूरगामी उद्देश्यसहित उहाँहरूले ६ बिगाहा जग्गा भाडामा लिएर यस फार्मको थालनी गर्नुभएको थियो । यसपटक पहिलो गरिएको सयपत्री फूल खेतीले अत्यधिक राम्रो बजार पाउनुका साथै लोभलाग्दो सफलता हासिल गरेको छ।
लामो समय सरकारी सेवा (सिँचाइ इन्जिनियर) मा बिताएर अवकाशप्राप्त गर्नुभएका पौडेलले भन्नुभयो,“३०–३५ वर्ष सरकारी सेवामा बिताएपछि, अवकाशप्राप्त जीवनलाई देशको सेवा र उत्पादनसँग जोड्ने सोच बनाएँ, सरकारले पनि पछिल्लो समय स्वदेशी उत्पादनलाई बढावा दिनुपर्ने नीति लिएको छ, तिहार वा अन्य चाडपर्वमा बाहिरबाट आयात हुने फूललाई प्रतिस्थापन गर्दै स्वदेशी उत्पादनलाई महत्त्व दिनुपर्छ भन्ने उद्देश्यले हामीले यो क्षेत्र रोजेका हौँ ।”
६ बिघा जग्गा भाडामा लिएर भविष्यमा एकीकृत कृषि गर्ने दीर्घकालीन योजनाका साथ यो काम थालिएको बताउँदै उहाँले पहिलो पटकको परीक्षणस्वरूप १५ कट्ठामा गरिएको सयपत्री फूल खेती अत्यन्तै सफल भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार लक्ष्मीपूजासम्म ८ –१० क्विन्टल फूल र १५ सयभन्दा बढी मालाहरू बिक्री भइसकेका छन् भने तिहारको दिनसम्म माग धान्न गाह्रो पर्ने अवस्था देखिएको छ।
बजार व्यवस्थापन र समग्र कृषिको कार्यभार सम्हालिरहनु भएका होटल व्यवसायी समेत रहनुभएका नारायण न्यौपाने यस व्यावसायिक सहकार्य र स्थानीय बजारको अवस्थाबारे भन्नुहुन्छ “हामीले ‘रिभर साइड एग्रो भिलेज एण्ड रिसोर्ट प्रालि’को नाममा यो एकीकृत कृषि फर्म सञ्चालन गरेका छौं, पहिलो प्रयासस्वरूप १५ कट्ठा जग्गामा सयपत्री फूल लगाएका थियौं, जसको उत्पादन र बजार माग अत्यन्तै उत्साहजनक छ।”
उहाँका अनुसार बुटवल, भैरहवा, परासी, सेमरी, गोपीगञ्ज, जिमिरेभार र बर्दघाट लगायतका स्थानीय बजारहरूमै फूल आपूर्ति भइरहेको छ । पश्चिम नवलपरासीको मिश्रौलीमा देखिएको यो सफल अभ्यासले स्वदेशी उत्पादनको प्रवद्र्धन, आयात विस्थापन र स्थानीय रोजगारी सिर्जना गर्न कृषि क्षेत्र नै मुख्य आधार बन्न सक्छ भन्ने बलियो सन्देश दिएकोछ ।
,