

परासी, ११ असार । जबरजस्ती करणी मुद्दामा अदालतबाट ८ वर्ष कैद सजाय तोकिएका एक फरार अभियुक्तलाई पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापश्चिम) ले नवलपरासी जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा ८ वर्ष कैद सजाय सुनाइएका बर्दघाट नगरपालिका–१४ गंगाबस्ती निवासी २६ वर्षीय सञ्जय चौधरीलाई पक्राउ गरेको हो।
अदालतले २०८१ फागुनमा उक्त मुद्दामा दोषी ठहर गर्दै कैद सजायको फैसला गरेको थियो। फैसला कार्यान्वयन हुन बाँकी रहँदै फरार रहेका चौधरीलाई खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरी टोलीले उनको घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी डीएसपी मदन थापाले जानकारी दिनुभयो ।
पक्राउ परेका चौधरीलाई फैसला कार्यान्वयनका लागि नवलपरासी जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतको आदेशपछि उनलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ।
फरार अभियुक्तहरूको खोजी तथा अदालतका फैसला कार्यान्वयनलाई प्राथमिकतामा राख्दै प्रहरीले अभियान सञ्चालन गरिरहेको बताएको छ।
